• बैशाख २१ २०८३, सोमबार

संविधानको धारा ७६ (५) सांसदहरूको ब्रह्मास्त्र हो : वरिष्ठ अधिवक्ता श्रेष्ठ

असार १० २०७८, बिहीबार

काठमाडौँ। वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले नेपालको संविधानको धारा ७६ (५) संसद् जोगाउने ‘ब्रह्मास्त्र’ भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बिहीबार बहस गर्दै श्रेष्ठले ७६(५) अनुसार सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्ने बताए ।

उनले भने, ‘७६(५) सांसदहरुलाई दिएको ब्रह्मास्त्र हो । जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्छ । यसैका लागि ७६(५) राखिएको हो ।’ यसमा दलको समर्थन चाहिने, अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्क गलत भएको उनले बताए ।

“नेपालमा अहिलेसम्म अल्पमतको सरकार तीनपटक बनेका छन् । मनमोहन अधिकारीको, सूर्यबहादुर थापाको र लोकेन्द्रबहादुर चन्दको । ती सरकार टिक्न सकेनन् । अल्पमतका सरकार चल्न सक्दैन भनेर नै संविधानमा धारा ७६(५) राखिएको हो,” उनले भने ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा भइरहेको सुनुवाइको दोस्रो दिन शुरूमा बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले रिट निवेदकको पक्षबाट बहस गरिरहेका छन् ।