काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अधिकृतहरूलाई सक्रिय भई उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथाम, निषेधाज्ञा कार्यान्वयनको साथै आ-आफ्नो क्षेत्रमा आइपर्ने सम्भावित बाढी, पहिरो, डुबान जस्ता विपद् व्यवस्थापनमा सक्रिय र उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् । जनशक्ति तथा साधन श्रोतको उचित व्यवस्थापन गरी प्रकोप व्यवस्थापनमा ध्यान दिन उनले आग्रह गरे ।
आफू मातहत प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउन, उनीहरूको गुनासो सुनुवाइको व्यवस्थापन, अनुगमन तथा निरीक्षणमा विशेष भूमिका निर्वाह गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले हिंसात्मक गतिविधि, जघन्य अपराध, साइबर क्राइम, कालोबजारी, तस्करी जस्ता आपराधिक गतिविधिप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै सरुवा भई जान लागेको कार्यालयको विशिष्टता अनुरुप प्राप्त नयाँ जिम्मेवारीलाई पदीय दायित्व अनुसार भूमिका निर्वाह गर्नुपर्ने बताए ।
साथै घोषित निर्वाचनको पूर्व तयारीका लागि अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय तथा सहकार्य गर्नुपर्नेमा समेत उनले जोड दिए ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागका प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले आर्थिक अनुशासन प्रति संवेदनशील हुनुपर्ने बताए । आ-आफ्नो क्षेत्रमा निर्माण हुने भौतिक संरचनाहरूको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उनले बताए । उक्त अवसरमा हालै सरुवा भएका प्रहरी नायव महानिरीक्षकहरु तथा वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।