• बैशाख २१ २०८३, सोमबार

मनाङमा कोरोना भाइरस विरुद्धको खोप हेलिकप्टरबाट ल्याइयो

असार ७ २०७८, सोमबार

मनाङ । मनाङमा कोरोना भाइरस विरुद्धको खोप हेलिकप्टरबाट ल्याइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार नासो गाउँपालिकाका नागरिकलाई लगाउन लगिएको खोप बाढीपहिरोको चपेटामा परेपछि हेलिकप्टरबाट ल्याइएको हो ।

खोप नासो गाउँपालिका वडा नम्बर ४ स्थित अस्थायी स्वास्थ्य चौकीमा सुरिक्षत तरिकाले राखिएको स्वास्थ्य प्रमुख आचार्यले बताए ।

बाढीपहिरोमा परेपछि नासोका नागरिक कोरोना भाइरस विरुद्धको खोप लगाउनबाट बञ्चित भएका छन् । खोप लगाउने भनिएको दिन नै अबिरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले नासो क्षेत्र डुबानमा परेको हो ।

मनाङमा ६ हजार नागरिकलाई पहिलो र दोस्रो चरणमा एक हजार नौ सयले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएका छ । अझै तीन हजार तीन सय जनालाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य प्रमुख आचार्यले बताए ।

बाढीपहिरोले ठाउँठाउँमा खानेपानीको पाइपहरु बगाएको छ । त्यस कारणले पनि अहिले यहाँका नागरिक आकाशे पानी खाएर बस्न बाध्य भएको स्वास्थ्य प्रमुख आचार्यले बताए । आकाशे पानी खाएर बस्दा स्वास्थ्यमा असर पर्ने भएकाले पानीमा क्लोरिन ट्याब्लेटको माध्यमबाट पानी शुद्धीकरण गरिएको छ ।