• बैशाख २१ २०८३, सोमबार

विराटनगरमा निषेधाज्ञा खुकुलो पार्दै ७ दिन थपियो

असार ७ २०७८, सोमबार

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञा खुकुलो गर्दै ७ दिन थप लम्ब्याएको छ ।

प्रत्येक दिन १२ बजेसम्म तोकिएका पसलहरु खोल्न पाउने गरी खुकुलो प्रावधानसहित ७ दिन (असार ८ गते देखि १४ गते सम्म)का लागि निषेधाज्ञाको समयावघि थप गर्ने निर्णय गरेको छ ।

सोमबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले स्थानीय प्रशासन ऐन २०३८ को दफा ६ को उपदफा ३ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ बमोजिम निषेधाज्ञाको समय थप गर्ने निणर्य गरेको हो ।

सो बैठकले पहिलेको निषेधाज्ञाका केही बुदाहरु परिमार्जन गर्दै विहान १२ बजेसम्म खाद्यान्नका, तरकारी फलफुल, माछामासु, लत्ताकपड, सुन पसल, पुस्तक पसल आदि खोल्न पाउने भएको छ । दूध जन्य पदार्थ डेरी पसल भने विहान ६ देखि वेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ ।

कृषिजन्य उत्पादनको ओसारपसारमा कुनै रोकटोक नहुने आदेशमा भनिएको छ । निषेधाज्ञाको समयमा लामो तथा छोटो दूरीका सवारी साधन सूचालन गर्न रोक लगाइएको छ ।

त्यस्तै, होटल रेस्टुरेन्ट, बार, सभा गोष्ठी जस्ता जमघट हुने सबै खालका गतिविधिमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । वर्कसपहरु पनि बिहान देखिनै सञ्चालन गर्न सकिने भएको छ ।

सरकारी कर्मचारीहरुले परिचयपत्र देखाएर आवतजावत गर्न पाइने छ । उद्योग कलकारखानामा काम गर्ने कर्मचारी, मजदुरहरुलाई विहान ९ देखि १० बजेसम्म र वेलुका ६ देखी ७ बजेसम्म आवत जावत गर्न दिइने भएको छ ।

मोरङमा बैशाख १९ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा अवज्ञा वा उल्लङघन गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यायदेश २०७८ को दफा १९ वा २१ वा २२ वा २४ वा अन्य प्रचलित कानून बमोजिम कारवाही तथा जरिवाना गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।