काठमाडौँ। नेपालमा कोभिड-१९ को नयाँ म्युटेसन भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो म्युटेसन अझ संक्रामक र सबै उमेरका व्यक्तिलाई असर गर्ने रहेको बताइएको छ ।
वैशाख २६ देखि जेठ २० गतेसम्म संकलन गरिएका उक्त नमूनाहरु जिनोमिक पहिचानका लागि भारतको द इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटिभ बायोलोजी ल्याबमा पठाइएको थियो । परीक्षण गरिएका नमूनामध्ये ४७ वटामा डेल्टा र एउटामा अल्फा म्युटेसन भएको पाइएको थियो ।
डेल्टा म्युटेसन पहिचान भएकैमध्येबाट ९ वटा नमूनामा ‘के ४१७ एन म्युटेसन’ म्युटेसन पुष्टि भएको हो ।
नेपालमा हालसम्म डेल्टा, अल्फा र कप्पा भेरियन्ट पुष्टि भएको छ ।