• बैशाख २१ २०८३, सोमबार

बलात्कार आरोपमा युवक पक्राउ

असार ७ २०७८, सोमबार

काठमाडौँ। १५ वर्षिया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका-८ का २३ वर्षीय जयराम चौलागाई प्रहरीले पक्राउ गरेको हो ।

धुलिखेलकै बालिकालाई खाजा खुवाउने निहुमा भक्तपुर हुँदै काठमाडौंको सुन्धारा पुर्‍याएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

यही असार ५ गते बिहान १० बजेदेखि बालिका हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय धुलीखेलमा निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले आइतबार सुन्धारामा बालिकालाई फेला पारेको थियो ।

बालिकाको बयानका आधारमा जयरामलाई पनि सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जयरामविरुद्ध बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी दिएकी छन् ।

घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ ।