काठमाडौं । रात परेसागै मेलम्चीमा आज पनि फेरी बाढी आउन शुरू गरेको छ । पहिले बँचेका संरचनाहरु पनि फेरी बगाउन थालेको स्थानीयले जनाए ।
मेलम्ची खोलामा आएको बाढी भर्खरै हेलम्बुको चनौटेबजारको रातो पुल बगाएको छ। प्रहरीका अनुसार शुक्रबार राति करिब ८ बजेदेखि मेलम्ची नदीमा बाढी आएको हो।
प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।
मेलम्ची र इन्द्रवती संगम स्थल मेलम्ची बजारलाई तहन नहस बनाएको बाढी घट्ने अपेक्षा गरिए पनि प्रत्येक दिन बेलुका बढ्ने गरेको छ।
इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार शुक्रबार बेलुका पनि दिउँसाको तुलनामा बाढी ठूलो आएको छ। त्यहाँका एक प्रहरी अधिकारीले भने, ‘हामीले घट्ने आश गरेका थियौँ। तर बाढी अहिले राति बढेको छ। झण्डै अस्तिको जत्रै लेदोसहितको बाढी आइरहेको छ।’
मेलम्ची क्षेत्र तथा हेलम्बुस्थित नदी आसपासका जनतालाई अस्ति नै सुरक्षित स्थानमा सारिसकिएको छ भने आवश्यक सतर्कता अपनाउन प्रहरीले स्थानीयलाई अनुरोध गरेको छ।
नदी आसपास रहेका खाली घरहरूलाई भने बाढीले क्षति पुर्याउन सक्ने आँकलन गरिएको छ।
लेदो र ढुंगासहितको बाढी आउँदा मेलम्चीका झण्डै दुई सय घर डुबानमा परेका छन् भने सयौँ रोपनी खेती योग्य उर्वर जमिन बगरमा परिणत भएको छ। मेलम्ची खानेपानी आयोजनाभन्दा माथिल्लो भेगमा गएको पहिरोका कारण दैनिक बाढी आउने गरेको छ।