सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।
नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी नेता प्रकाश ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढा आज बसेको दलको बैठकले पार्टी ह्विप विपरीत फ्लोर क्रस गरेको भन्दै राजीनामा दिन निर्देशन दिएको हो ।
गत वैशाख ३ गते माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर फ्लोर क्रस गरेका थिए ।
फ्लोर क्रस गरेपछि एमालेले प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्य नरहने गरी उनीहरु चार जनालाई निष्कासन गरेको थियो । सर्वोच्च अदालतले एमाले संसदीय दलकै सदस्यका रुपमा काम गर्न दिनू भन्ने अन्तरिम आदेश दिएपछि उनीहरु पुनस्र्थापित भएका हुन् ।
दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीत्रय थापा, शाही र बुढालाई राजीनामा दिएर प्रतिपक्षी भूमिकामा बस्न निर्देशन दिएको हो ।