• बैशाख २१ २०८३, सोमबार

पीडितहरुको उद्धार तथा राहतको व्यवस्था मिलाउन आयोगको आग्रह

असार ४ २०७८, शुक्रबार

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिरो तथा डुबान पीडितहरुको उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
शुक्रबार आयोगले एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न, प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, पीडितहरुको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोगले आग्रह गरेको हो ।

यसका साथै प्राकृतिक विपद्का कारण हाल भइरहेको धनजनको क्षति, पीडितहरुको उद्धार एवम् राहतको पुर्व तयारी लगायतका सम्बन्धमा सरकारले गरिरहेका कार्यहरुको जानकारी गराउन समेत आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरुबाट पीडितहरुको अवस्था, राहत, उद्धार तथा स्वास्थ्य उपचारका सम्बन्धमा अनुगममन भइरहेको आयोगले जनाएको छ ।

‘सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार बेलुका आएको बाढी र पहिरोमा परी चार जना बेपत्ता भएको, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची बजार क्षेत्रका करिब ४ वटा पुलहरु बगाउँदा यातायात सम्पर्क विच्छेद भएको अनुगमनको क्रममा बुझिएको छ । त्‍यसैगरी म्याग्दी, बागलुङ, पाल्पा, गोरखा लगायतका जिल्लाहरुमा बाढी पहिरोका कारण यातायात अबरुद्ध भएको, पर्वत, लमजुङ, मनाङ, नवलपरासी लगायतका जिल्लामा सयौं परिवार बाढी, पहिरो र डुबानको जोखिममा रहेको आयोगलाई जानकारी प्राप्त भएको छ ।’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘ अतः यस विपद्को घडीमा मानवीय सहयोगको उच्चतम भावनाका साथ उद्धार, राहत तथा पुनस्र्थापनाका लागि जुट्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।