• बैशाख २१ २०८३, सोमबार

बाढीपहिरो अपडेट : ११ जनाको मृत्यु,२५ बेपत्ता

असार ३ २०७८, बिहीबार

काठमाडौं । मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् ।

जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एक/एक जनाको मृत्यु भएको हो ।

यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइरहेका छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा १५ जना सम्पर्कविहीन छन् । भारी वर्षा र हावाहुरीका कारण जाजरकोटको ४ हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनबाट सात जना हराइरहेका छन् । यस्तै बाजुरा, प्यूठान, अर्घाखाँचीमा एक/एक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ ।