• बैशाख २० २०८३, आईतवार

राउटे किशोरीमाथि भएको दुर्व्यवहारको काउन्सिलले अध्ययन गर्ने

जेष्ठ २८ २०७८, शुक्रबार

सुर्खेतको गुर्भाकोटकी राउटे किशोरीमाथि भएको यौन  दुर्व्यवहार र सो घटनालाई केही मिडिया तथा सामाजिक सञ्जाल (खासगरी युट्युब च्यानल)मा अतिरञ्जित तबरले भिडियो तथा तस्बिर प्रयोग भएको विषयमा प्रेस काउन्सिल नेपालले अध्ययन गर्ने भएको छ ।

काउन्सिल नेपाल अन्तर्गतको आचारसंहिता अनुगमन उपसमितिको बैठकले पीडितलाई थप पीडा पु‍र्याउने, व्यक्तिको गोपनीयताका प्रतिकूल असर पार्ने, किशोरीकै समुदायभित्र सामाजिक विभेद एवं घृणा उत्पन्न गराउने र व्यक्तिको सुरक्षामा समेत खतरा उत्पन्न गराएको औंल्याउँदै अध्ययन गर्ने निर्णय गरेको हो । उक्त घटनाले अल्पसङ्ख्यक एवं महिलाको आत्मसम्मान र भावनामा प्रतिकूल असर परेको ठहर गर्दै काउन्सिलले यी विषयमा अध्ययनका साथै सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको हो ।

प्रेस काउन्सिल नेपालका सञ्चारमाध्यम नियमन गर्ने स्वायत्त संस्था हो । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै जारी निषेधाज्ञाका अवधिमा समेत प्रेस काउन्सिल नेपालबाट आचारसंहिता अनुगमन एवं उजुरी सुनुवाइ भइरहेको छ । यस अवधिमा अनुगमन र कारबाही सम्बन्धी १४८ सञ्चारमाध्यम र वेब पोर्टलमा आचारसंहिता प्रतिकूल घटना भएको पाइएको छ ।

यस अवधिमा कोरोना सङ्क्रमणका विषयमा विभत्स दृश्य, अतिरञ्जित सामग्री सम्प्रेषण गर्ने १३, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण भएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि पत्राचार भएका ७३, निषेधाज्ञाको अवधिमा कोरोना सङ्क्रमणभन्दा फरक विषयमा ९ वटा मिडियालाई स्पष्टिकरण सोधिएको र निषेधाज्ञाको अवधिमा कोरोना सङ्क्रमणभन्दा फरक विषयमा १३ वटा मिडियासँग जवाफ मागसहित सचेत÷ध्यानाकर्षण गराइएको छ । यस्तै यस अवधिमा प्रक्रिया पूरा गरी दर्ता भएका उजुरी २९ रहेका छन् ।

साथै यही क्रममा राष्ट्रिय सभाका लागि बागमती र लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएकाले ४० वटा मिडियालाई ध्यानाकर्षण गराइएको छ ।

विभिन्न विषयमाथि छलफल र निर्णय गर्न बसेको यस बैठकमा काउन्सिल अध्यक्ष एवं उपसमितिका संयोजक बालकृष्ण बस्नेत र काठमाडौँमा उपलब्ध सदस्य दीपक पाण्डेको भौतिक उपस्थिति र बाहिर रहेका सदस्यको ‘भर्चुअल’ उपस्थिति रहेको थियो ।

बैठकमा अध्यक्ष बस्नेत, उपसमितिका सदस्यहरू गोपाल बुढाथोकी, दीपक पाण्डे, दुर्गा भण्डारी पौडेल, लालबाबु शेख, रक्षा बस्याल (प्रतिनिधि) नेपाल बार एसोसिएसन उपाध्यक्ष, काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल, उपसमितिका सचिव उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहरा सहभागी थिए । सदस्यहरू बुढाथोकी, भण्डारी, शेख, बस्याल भर्चुअल रूपमा बैठकमा सहभागी रहेको काउन्सिलका प्रवक्ता दीपक खनालले जानकारी दिए ।