काठमाडौँ। सर्वोच्च अदालत परिसरमा खटाइएका दंगा प्रहरी टोली हटाइएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार सोमबार सर्वोच्च परिसरबाट दंगा प्रहरी टोली हटाइएको हो। बारको आन्दोलन रोक्न र सर्वोच्च परिसरको सुरक्षाका लागि भन्दै महानगरीय प्रहरी कार्यालय (मेट्रो) ले दंगा प्रहरी खटाएको थियो। शान्तिपूर्ण आन्दोलनलाई विथोल्ने गरी हतियारसहितका दंगा प्रहरी राखेको भन्दै कानुन व्यवसायीहरुले विरोध गर्दै आइरहेका थिए।
कार्तिक १४ गतेयता कानुन व्यवसायीहरु प्रधानध्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा विरोधका कार्यक्रम गर्दै आइरहेका छन्। आन्दोलन चर्कन थालेपछि नेपाल प्रहरीले त्यस क्षेत्रमा दंगा प्रहरी टोली परिचालन गरेको थियो। दैनिक रुपमा कानुन व्यवसायीहरुले प्रदर्शनजन्य विरोध कार्यक्रम गरेपछि प्रहरी र कानुन व्यवसायीहरुबीच घम्साघम्सी हुँदै आएको छ।
प्रदर्शनका क्रममा हुनसक्ने अप्रिय घटनालाई ख्याल गर्दै नेपाल प्रहरीले दंगासहित करिब १ सय ७० जनाको प्रहरी टोली सर्वोच्च परिसरमा खटाउँदै आएको थियो। आजदेखि करिब ४० जनाको दंगा नियन्त्रण टोली हटाइएको छ।