• कार्तिक १३ २०८३, बिहीबार

स्पेनमा रेल दुर्घटना हुँदा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

कार्तिक १३ २०८३, बिहीबार

काठमाडौँ । स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौँभन्दा बढी घाइते भएको बताइएको छ ।

बीबीसीका अनुसार बुधबार बिहान म्याड्रिडबाट सेभिल्तर्फ जाँदै गरेको एउटा रेल लिकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनापछि रेलका धेरै वटा डिब्बाहरू किनारको ढिस्कोबाट तल खसेका थिए ।

बुधबार बिहान ९ बजेपछि म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाबीच दुर्घटना भएको थियो ।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले कम्प्युटर प्रणालीमा आएको गडबडी र त्यसपछि भएको मानवीय त्रुटिका कारण दुर्घटना भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । यो दुर्घटना युरोपको आधुनिक इतिहासकै एक खराब र पछिल्लो १३ वर्षयताकै स्पेनमा भएको सबैभन्दा ठूलो रेल दुर्घटना हो।

मन्त्री पुएन्तेका अनुसार, निजी रेल सञ्चालक इरियोको स्वामित्वमा रहेको र १४७ जना यात्रु बोकेको रेल कम्प्युटरमा आएको खराबीका कारण लिकमै रोकिएको थियो ।
यता, इरियो कम्पनीले आफ्नो रेललाई स्पेनको सरकारी रेल्वे कम्पनी रेनफेद्वारा सञ्चालित र ३९७ जना यात्रु बोकेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको जनाएको छ।

दुर्घटनाबाट उद्धार गरिएका यात्रुहरूले हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कनका लागि झ्यालका सिसाहरू फोडेको हृदयविदारक दृष्यहरूको वर्णन गरेका छन् ।