काठमाडाैं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश मनोजकुमार शर्मा र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटसम्बन्धी सार्वजनिक विवरणमाथि छानबिन गर्न माग गरेको छ ।
एसोसिएसनले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक सञ्चारमाध्यममा आएका विवरणले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेकोले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, निर्भीकता र संस्थागत विश्वसनीयता कायम राख्न छानबिन हुनुपर्ने माग गरेको हो ।
सञ्चारमाध्यममा प्रकाशित आरोप तथा विवरणलाई नै अन्तिम सत्य वा कुनै व्यक्तिविरुद्ध दोष प्रमाणित भएको निष्कर्षका रूपमा लिन नमिल्ने तर निष्पक्ष छानबिन चाहिँ हुनुपर्ने बारको माग छ ।
न्यायपालिकाको उच्च नेतृत्व तथा न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठिसकेपछि त्यसलाई केवल सञ्चारमाध्यममा प्रकाशित समाचारका रूपमा सीमित राख्न नहुने बारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बारले कानुनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको पद वा हैसियतको परवाह नगरी कारबाही गर्नुपर्ने र आरोप प्रमाणित नभएमा सम्बन्धित व्यक्तिको प्रतिष्ठा तथा संस्थागत मर्यादाको संरक्षण हुने गरी स्पष्टता प्रदान गर्नुपर्ने बताएको छ ।