नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले पार्टीमा ढोका बन्द गरेकाले नयाँ पार्टी खोल्नुपरेको बताएका छन्। राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनकाे कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
राजनीतिबाट सन्यास लिने या ओलीसामु आत्मसमर्पण गर्ने भन्ने अवस्था आएपछि बाध्य भएर नयाँ पार्टी खोलेको नेपालले बताए। ‘हामीलाई एमालेमा बस्न ढोका बन्द गरेपछि सन्यास लिने कि आत्मसमर्पण गरेर केपी ओलीको टाङमुनी छिरेर बस्ने भन्ने भयो। हामीले त्यसलाई अस्वीकार गर्यौं र बाध्य भएर नयाँ पार्टी गठन गर्यौं,’ उनले भने।
एमालेले बिद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउँदै हिडेको भन्दै उनले अहिले आफ्नो पार्टीमा प्रवेश गर्ने क्रम चलेको दाबी गरे। नेपालले सरकारमा रहेका आफ्ना मन्त्रीले गलत काम गरे कारबाही गरेर फिर्ता बोलाइने समेत बताए।
अध्यक्ष नेपालले शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए ।
‘स्वास्थ्य क्षेत्रमा भएका गलत कामलाई सुधार्न र विगतदेखि समस्या झेल्दै आएका कर्मचारीको समस्या समाधान गर्न स्वास्थ्यमन्त्री प्रतिवद्ध भएर काममा लाग्नुभएकाे को छ’, उनले भने, ‘स्वास्थ्य क्षेत्रमा भएका गलत कामकारवाहीलाई अब रोकिन्छ ।’