नेपाली कांग्रेसको महाधिवेशन आउन तीन हप्ता पनि बाँकी छैन । यसका लागि पार्टीको तर्फबाट तयारी गरेको देखिदैन । महाधिवेशन आफैमा विचार तथा नेतृत्च चयनको गहन काम हो ।
सत्ताधारी ठूलो पार्टी भएकाले पनि आमजनताको चासो रहेको छ, यो महाधिवेशनमा । यति बेला यसका दुई ठूला कार्यभार पनि छन् : पहिलो नेपाली कांग्रेस समाजवादी बाटोमा छ वा छैन, दोस्रो, युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुन्छ वा हुँदैन ?
यस अतिरिक्त राष्ट्रियताका बारेमा नेपाली कांग्रेसको धारणा के हुने ? यसै त नेपाली कांग्रेस वीपीको राष्ट्रियताको मान्यतामा छ कि अरु कुनै भन्ने सवाल उठिरहेको थियो । वीपीको राष्ट्रियतामा संवैधानिक राजासिहतको प्रजातान्त्रिक राष्ट्रियताको परिकल्पना थियो ।
केही दिन अघि प्रम देउवाले अब राजाको पुनरागमन कल्पना परैको विषय हो, त्यो समय गैसक्यो भनी किटानीसाथ बोलिरहेका छन् । यो बेलामा अबको राष्ट्रियताको परिभाषा के त ? यो पनि स्पष्ट हुनु जरुरी छ ।
महाधिवेशनमा विचारको कुरा उठाइन्छ । आसन्न महाधिवेशनमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नयाँ परिभाषा पनि गरिनु पर्ने हो । तर यसको बहससम्म उठेको छैन नेपाली कांग्रेसमा ।
यी सबै कुरा हेर्दा केवल नेतृत्व चयनका लागि प्राविधिक कार्यक्रम गरेर सम्पन्न हुने देखिन्छ, नेपाली कांग्रेसको महाधिवेशन । महाधिवेशन प्राविधिक हुँदै जाँदा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको मन र मत पनि प्राविधिक हुँदै गएका छन् ।
उनकै लबीमा रहेका जिम्मेवार नेताहरु पनि देउवाले आफ्नो प्यानलमा पार्छन् वा पार्दैनन् भनी आशंका व्यक्त गर्न थालिसकेका छन् । देउवाले आफूलाई नेतृत्वको धुरीमा राखेर एकलौटी प्रचार गरिरहेकाले उनको प्यानलमा को को रहने भन्ने पनि निधोसम्म छैन ।
यही आशंकाका माझ अहिले नेपाली कांग्रेसभित्र एक महिलासहित ३ जना सहमहामन्त्री थप्नु पर्ने कुरा उठिरहेको छ । यसको नेतृत्व मीन विश्वकर्मा सहितका नेताहरुले गरिरहेका छन् । यसलाई समावेशिताको सुन्दर संयोजनका रुपमा व्याख्या गर्न थालिएको छ ।
तर यस विषयलाई लिएर देउवा र पौडेल दुवै पक्ष सन्तुष्ट छैनन् । उनीहरुले ‘हुने’ वा ‘नहुने’ भन्ने कुनै पनि प्रतिक्रिया दिएका छैनन् । हाल नेपाली कांग्रेसको विधानमा पार्टी पदाधिकारीमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री रहने व्यवस्था छ ।