• मंसिर १४ २०८१, शुक्रबार

आगामी चुनावमा माओवादी फेरि पहिलो पार्टी हुन्छ : प्रचण्ड

कार्तिक २५ २०७८, बिहीबार

डोल्पा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओवादी फेरि पहिलो पार्टी बन्ने दाबी गरेका छन्। डोल्पा सदरमुकाम दुनैमा बिहीबार कार्यकर्ता भेटघाटका क्रममा उनले अब थोरै कसरत गरे आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी हुनेमा ढुक्क हुन कार्यकर्तालाइ आश्वासन दिए।

उपल्लो डोल्पा पुगेका अध्यक्ष प्रचण्डले डोल्पामा विकास अपरिहार्य रहेको र त्यो कुरा माओवादीले मात्रै बुझेको बताए। शान्ति प्रक्रियामा आए लगत्तै माओबादीले पहिलो दल भएको र अब आउने निर्वाचनमा पनि पहिलो दल बन्ने दावी गरे। उनले अहिलेको गठबन्धन सरकारले निर्वाचनमा समेत गठबन्धन गरेर ओली प्रवृति हराउने बताए।

अर्थमन्त्री जर्नादन शर्माले डोल्पाको विकासमा आफूले जति पनि बजेट व्‍यवस्था गर्ने बताए। डोल्पाका जनताका सबै समस्या हल गर्न तयार रहेको र चिनको तिब्बतको क्याटो नाका हुदै बाँकेको जमुनाहा सम्म सड्क निर्माण गरि धो मा सुक्खा बन्दरगाहा निर्माण गर्ने लक्ष्य रहेको समेत बताए।

अध्यक्ष प्रचण्ड , कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत ,अर्थमन्त्री जर्नादन शर्मा र पूर्व शान्तिमन्त्री सत्य पहाडी माथिल्लो डोल्पाबाट आज सदरमुकाम दुनै पुगेका हुन्। दुई दिनको डोल्पा भ्रमण सकेर प्रचण्डको टोली आजै काठमाण्डौ फर्किएको छ। छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ सहित दुई वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीहरु नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।