काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले भोलि सोमबार पनि कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ। नेपाल बारका महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै सबै कानुन व्यवसायीलाई सोमबार साढे १० बजे नेपाल बारको प्राङ्गणमा उपस्थित हुन आह्वान गरेका छन्।
‘प्रधानन्यायाधीशज्यूको राजीनामा माग गर्दै गत कात्तिक १४, १५, १६ र १७ गतेको सर्वोच्च अदालत केन्द्रित कालोपट्टी सहितको विरोध कार्यक्रम सम्पन्न भएका छन्। कात्तिक २२ गतेदेखि पनि पुनः निरन्तरता दिइने भएकाले काठमाडौं उपत्यकामा रहनु भएका सम्पूर्ण कानून व्यवसायीज्यूलाई उक्त कार्यक्रममा बिहान १० : ३० बजे बार कार्यालयमा उपस्थित भई न्यायपालिकाको शुद्धीकरण गर्ने बारको अभियानमा एक घण्टा कालोपट्टी सहितको विरोध कार्यक्रममा सरिक भइदिनुहुन हार्दिक आह्वान गर्दछौँ । देशभरिका बार इकाइका अध्यक्ष, सचिवज्यूहरूसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकाले थप विरोधका कार्यक्रमपछि प्रकाशित गरिनेछ।’जारी विज्ञप्तिमा भनिएको छ।