• मंसिर १४ २०८१, शुक्रबार

राजदूत नियुक्तिमा भागबण्डा नगरौँ, साझा सूची बनाऔँ : नारायणकाजी श्रेष्ठ

कार्तिक २१ २०७८, आईतवार

काठमाडौँ। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूत सिफारिसमा कुनै पनि दलमा नलागेका देशभक्त र सक्षम व्यक्तिहरुलाई अवसर दिनुपर्ने बताएका छन् ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले आइतबार सामाजिक सञ्जालमार्फत कम्तीमा राजदूत नियुक्ति गर्दा पार्टीहरुको भागबन्डाभन्दा पनि छुट्टै साझा सूची बनाउन सुझाव दिएका हुन् । ‘पार्टीहरुले भागबन्डा गर्दा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरुले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अबस्था बन्छ। त्यो देश र व्यक्ति दुबैका लागि अन्याय हुन्छ’, उनले भनेका छन्।

उनले सरकार परिवर्तनसँगै पूर्ववर्ती सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउनु राम्रो नभएको बताएका छन् । संविधान ,कानून र लोकतान्त्रिक मूल्यमान्यता विपरित नियुक्ति गरिएका, असक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदुतहरुलाई मात्र फिर्ता बोलाउनु पर्दछ ,सबैलाई एकमुष्टरुपमा होइन । सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउँदा हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदूतहरु फिर्ता बोलाउने परम्परा बस्ने श्रेष्ठको तर्क छ । ‘यस्ताे अवस्थामा हामीले पठाएको कुनै देशको राजदुतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । स्थायित्वको आशंकाको कारण संबन्धित देशहरुमा काम गर्ने वातावरण बन्दैन।’

‘अब छिट्टै राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्ने होला । यद्यपि प्रमले तीन जनाको नियुक्ति गरिसक्नुभयो । अब बाँकी राजदूतहरू नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ, कम्तिमा पनि केही संख्या पार्टीहरूको भागबण्डाभन्दा छुट्टै साझा सूची बनाऔं । अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । त्यो देश र व्यक्ति दुबैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने, तर लागु गर्ने चाँही स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहास गरौं ।’ उनले भनेका छन्।