काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न हस्ताक्षर नै गरेर अमेरिकालाई चिठी नपठाएको स्पष्ट पारेका छन् ।
शुक्रबार खुमलटारस्थित आफ्नो निवासमा देउसी भैलो खेल्न पुगेका ककर्मी र सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवाले भनेजस्तो एमसीसीबारे हस्ताक्षर गरेर पत्र नपठाएको बताए ।
प्रचण्डले भने,‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले एमसीसीबारे बोलिदिनुभएछ– प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । त्यसपछि देशैभरि साथीहरुको तरंग पैदा भएको छ । तर, वास्तवमा त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।’
दाहालले दुई जनाले पास गर्ने नभई एमसीसीका लागि राष्ट्रिय सहमति जुटाउने व्यहोराको चिठी पठाएको बताएका छन् । ‘हामी दुई जनाले एमसीसी पास गर्न राष्ट्रिय रुपमा सहमति गर्छौ भनेर चिठी पठाएका हौं, पास गर्न तयार छौ भनेका छैनौं’, उनले भने, ‘अमेरिका र बेलायत या अन्य देशले दिने सहयोग नलिने भन्ने त हुँदैन । तर एमसीसीमा जनस्तरमै विवाद देखिएपछि यसको निरुपणपछि मात्रै पास गरौं भन्ने हो ।’