आज १५ सेप्टेम्बर । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस । सन् १९४९ मा आजकै दिन नेपालमा कामरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी घोषणापत्र, विधान र सीओसी (सेन्ट्रल अर्गनाइजिङ्ग कमिटी)का साथ स्थापना गरिएको थियो । यो पार्टी स्थापना गर्न कमरेड पुष्पलालको अगुवाईमा २२ अप्रिलका दिन भारतको कलकत्ताको श्याम बजारमा एउटा ५ सदस्यी संस्थापन समिति बनाइएको थियो ।
त्यसले २४ अप्रिलका दिन एउटा पर्चा निकालेर नागरिक स्वतन्त्रताका निमित्त लड्न पर्दछ र सोभियत संघ, चीन र हिन्दचिनको बाटो हिँड्नु पर्दछ भन्ने आहृवान नेपाली जनतालाई गरेको थियो । त्यसपछि गृहकार्य गर्दै गएर १५ सेप्टेम्बरका दिन नेपाल कम्युनिष्ट पार्टी स्थापना भयो । यसबारे पहिलो पर्चा, घोषणा पत्र मात्र पढे पनि यथेष्ट कुरा प्राप्त हुन्छ ।
त्यसपछि २००८ सालमा भएको पार्टीको प्रथम सम्मेलनले नेपाली क्रान्तिको कार्यक्रम (नयाँ जनवादी कार्यक्रम र पार्टी थापना दिवस १५ सेप्टेम्बर हो भन्ने कुरा विधिवत (सम्मेलनले अनुमोदन गरेर) प्रष्ट पारेको थियो । यसमा कसैको कुनै विवाद थिएन पार्टीमा विभाजन नआउञ्जेल २०१९ सालसम्म ।
१५ सेप्टेम्बरकै दिन सोभियत संघ, चीन, भियतनाम, भारत लगायतका भाइचारा कम्युनिष्ट पार्टीले शुभकामना सन्देशहरु पठाउने गर्दथे । तर पछि पार्टीमा विभाजन आउँदै गएपछि यस सन्दर्भमा भ्रम सिर्जना गर्न थालियो र पार्टी कार्यक्रम र जन्म दिनको विवाद ल्याइयो ।
त्यो विवाद कमरेड पुष्पलालका बिरुद्ध अर्थात नयाँ जनवादी क्रान्तिको कार्यक्रम र संयुक्त जनआन्दोलनको कार्यनीति बिरुद्ध सोझ्याइएको थियो भन्ने कुरा ऐतिहासिक तथ्य प्रमाणहरुले प्रष्ट पारेका छन् । आज पुष्पलालको नाम नलिने कुनै कुम्युनिष्ट घटक नेपाला छैन । तर यी तथ्यहरुलाई अझै पनि ढाकछोप गर्ने र यथार्थ उजागर गर्न भने धेरैजसोले अझै पनि सकेका छैनन् ।
इतिहासलाई जस्ताको तस्तै (तथ्यहरुमा मनोगत कुरा केही नथपिकन र ती तथ्यहरुबाट कुनै कुरा आफुखुशी नघटाइकन) प्रस्तुत गर्नासाथ यथार्थ सबैका सामु छर्लङ्ग हुन्छ । द्वन्दात्मक ऐतिहासिक भौतिकवादी सिद्धान्तलाई अंगिकार गर्ने कम्युनिष्ट क्रान्तिकारीहरुले कुनै पूर्वाग्रह, भ्रम र भ्रान्ति पालेर पाखण्ड प्रदर्शन गर्ने कुरा आउँदैन ।
तर कम्युनिष्ट आन्दोलनलाई नै पथबिचलन र पाखण्डपूर्ण बाटोमा धकेल्ने कम्युनिष्ट नामधारीहरु यो कुरा मान्दैनन् र कम्युनिष्ट पार्टी नाम र चिन्ह प्रयोग गरेपछि कम्युनिष्ट भइन्छ भन्ने भ्रान्त धारणा राख्दै जनता र देशलाई गुमराह गर्दछन् ।
वास्तवमा वर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्तिका लागि कम्युनिष्ट आन्दोलनको विश्वमा र नेपालमा पनि सुत्रपात भएको हो । यसले समाजमा ब्याप्त सबै किसिमका विषमता, बिवकृति, विभेद र बनावटी कुराको अन्त्य गरेर नयाँ, उच्च र सुसंस्कृत समाज निर्माण गर्ने बाटो खोल्दछ ।
यसरी राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृतिक समानतामा आधारित र शोषणरहीत समाजको निर्माण गर्दछ । त्यसैले यो अरु राजनीतिक ब्यवस्थाभन्दा गुणात्मकरुपले नै भिन्न र उच्चकोटीको राजनीतिक ब्यवस्था हो भन्ने कुरा प्रष्ट छ ।
यसै दिशातर्फ नेपाली समाजलाई अग्रसर गराउने मूलबाटो (नयाँ जनवादी क्रान्ति)का पथप्रदर्शक कमरेड पुष्पलालाई उच्च सम्मानका साथ स्मरण गर्दै तथा नेपालको परिवर्तनका लागि आफ्नो जीवनको बलिदान गर्ने महान वीर शहीदहरुलाई लालसलाम अर्पण गदै आजको दिन (१५ सेप्टेम्बर)बाट सही प्रेरणा लिदै अघि बढ्न सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरुमा अपिलकासाथ शुभकामना ।
उन्नत परिवर्तनका लागि छटपटइरहेका नेपाली श्रमजीवी जनताहरु ( मजदुर, किसान, राष्ट्रिय पूँजीपति, महिला, यूवा विद्यार्थी, विभिन्न जातिजनजाति, अल्पसंख्यक, सीमान्तिकृत जनसमुदायलाई पनि नेपाली समाजलाई ऐतिहासिक मोड र नवीन दिशा दिने यो दिनबाट क्रान्तिकारी मार्गमा लाग्न र मुक्तिको खोजगर्न प्रेरणा मिलोस् भन्ने उच्च मानवीय भावनाकासाथ अभिनन्दन ।