• मंसिर १५ २०८१, शनिबार

कांग्रेस महाधिवेशन : जिल्लाबाटै ‘डिजिटल भोटिङ’ गर्न मिल्ने प्रविधिको निर्माण

श्रावण ५ २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीको अवस्था कायमै रहिरहे आगामी १४ औँ महाधिवेशन डिजिटल माध्यमबाट गर्न सकिने प्रविधि निर्माण गरेको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको महाधिवेशनका लागि केन्द्रीय समितिले आवश्यक ठानेमा ‘डिजिटल भोटिङ’ को प्रविधि सुनिश्चितता गरेको जनाएको हो ।

गत असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न बैठकले ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएको कांग्रेसले जनाएको छ ।

कोरोना महामारी कायमै रहेको अवस्थामा केन्द्र र प्रदेशको ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था रहेको बताइएको छ । कोरोना महामारी न्यून भएमा भने महाधिवेशन भौतिक रुपमै गर्न सकिने तर कोरोना संक्रमणको जोखिम बढेको अवस्थामा पूर्व निर्धारित तालिका अनुसार महाधिवेशन गर्ने व्यवस्था गरिएको बताइएको छ ।

यद्यपी महाधिवेशनका लागि शुन्यबाट शुरु नगरिकनै सम्पन्न गर्न सकिने प्रविधि भित्र्याइएको विभागले जनाएको छ।

सो कुरा जानकारी दिनका लागि मंगलबार एक विज्ञप्ति जारी गर्दै विभागले भनेको छ( ‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ ।’

७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको विभागले जनाएको छ।

‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत बैठकले तय गरेको छ।

प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने विभागले जनाएको छ।