• बैशाख २४ २०८३, बिहीबार

जापान पठाइ दिन्छु भनि ४० लाख रकम असुल्ने ४ जना पक्राउ

श्रावण ४ २०७८, सोमबार

काठमाडौँ । विभिन्न मानिसहरुलाई जापान पठाइदिने भनेर झन्डै ४० लाख रकम असुलेको आरोपमा नेपाल प्रहरीले चारजनालाई पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुकमा साथी बन्न अनुरोध गरी जापानको अध्यागमनमा काम गर्ने जापानी नागरिक भएको भनी झुक्याई जापान जान काम गर्ने भिषाको लागि पहिले नै रकम पथाउनु पर्छ भनि प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुबाट गैह्रकानुनी रुपमा ३९,६८,९९६ रुपैयाँ असुल्ले विभिन्न ३ महिला र एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सामाजिक संजाल फेसबुकमा TANAKAYOKA नामको आइडी प्रयोग गरेर उनीहरुले विभिन्न बैंकहरुबाट पीडितहरुलाई आफ्नो खातामा रकम जम्मा गर्न लगाई आफूहरु सम्पर्क विहीन भएका थिए । ती व्यक्तिहरुलाई सोमबार नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको विशेष समूहले पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाएको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ घर भई हाल काठमाडौंको नयाँ बजार बस्ने वर्ष ३७ कि सुभद्रा परियार, इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ श्रीअन्तु घर भई हाल काठमाडौं नयाँ वानेश्वर बस्ने ३३ वर्षकी पूजा राई, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ७ खरिपाटी बासँवारी बस्ने वर्ष २१ कि दीपिका केसी र सिन्धुपाल्चोकको बाह्रबिसे नपा वडा नं ९ राम्चे घर भई हाल काठमाडौंको कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल रहेका छन् ।