काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र वरिष्ठ अधिवक्ता हरिहर दाहालबीच संवैधानिक इजलासमा सवाल जबाफ भएको छ ।
रिट निवेदकका तर्फबाट सोमबार जबाफी बहसको सुरुवात गरेका वरिष्ठ अधिवक्ता दाहालले संविधानको धारा ७६(२) बमोजिमनै दल चाहिने हो भने उपधारा ५ किन राख्ने भन्दै प्रश्न गरेपछि प्रधानन्यायाधीश जबरासँग सवाल जबाफ चलेको हो ।
“किन चाहियो यो उपधारा ५ ? शेर बहादुर देउवाको दाबी मात्र संविधान सम्मत हो, अरुको छैन,” दाहालले यस्तो जिकिर गरेसँगै प्रधानन्यायाधीश जबराले प्रश्न गर्दै भने,“धारा ७६(५)को व्यवस्था प्रधानमन्त्री नियुक्तका लागि मात्र हो कि अरु पनि छ ? बाँकी अवधि पूरा हुनका लागि हो कि ? सार्थकता दिन्छ जस्तो लाग्छ ?”
वरिष्ठ अधिवक्ता दाहालले यहीँ लाग्छ (प्रधानमन्त्री नियुक्तका लागि मात्र हो) भनेर आफूहरु अदालत आएको बताए ।
उनलाई प्रधानन्यायाधीश जबराले अर्को प्रश्न गरे,“पहिलो विघटनमा विकल्पमा सरकार बन्ने देखेर वदर गरेको हो । अहिले त एमाले नभइ सरकार बन्ने देखिँदैन ?”
जबाफमा दाहालले भने,“अहिले कांग्रेसको मात्रै छैन, माओवादी, जनमोर्चा छ । एमालेकै मानिसले वैकल्पिक सरकार बनाउने भनेका छन् । अदालतले संविधान बचाउने, संविधान हेर्ने हो ।”