काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्च अदालतमा निवेदन लिएर आएका सांसदको संख्यालाई आधार मानेर नियुक्तिको फैसला गर्दा संवैधानिक अभ्यास हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस गरिरहेका अधिवक्ता मेघराज पोखरेललाई प्रधानन्यायाधीश जबराले सोधे, ‘अदालतले प्रमाणीकरण गरिदिए हुन्छ भन्ने तर्क आयो । अदालतले यो अभ्यास गर्न राम्रो हुन्छ ? अदालतले बहुमत छ, नियुक्त गर भन्ने अभ्यास गर्न मिल्छ ? संविधानको धारा ७६ (५) ले यही भनेको हो ?’
जवाफमा अधिवक्ता पोखरेलले राष्ट्रपतिले जुन आधारमा प्रधानमन्त्री नियुक्त नगर्ने निर्णय गरिन्, त्यसले अप्ठ्यारो अवस्था आएको भन्दै संविधानको धारा ७६ को उपधारा ५ को व्याख्या हुनुपर्ने बताए ।
विश्वासको मत पाउने आधार राष्ट्रपतिकहाँ प्रस्तुत भइसक्दा पनि राष्ट्रपतिले अस्वीकार गरेकाले सांसदहरूको बहुमत संख्या सर्वोच्च अदालतमा आउनुपरेको उनको तर्क थियो ।