काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुखको अनुभूति गर्न नपाएको बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै शाहले भनेका छन्, ‘परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ’,
‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’
उनले कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश रहेको भन्दै सरकारले प्रभावकारी ढंगले यसमा पहल गर्न नसकेको बताएका छन् ।
आजको विश्व एकतर्फ नयाँ ज्ञान विज्ञान र अत्याधुनिक प्रविधिको विकासमा अघि बढिरहेको छ भने दुर्भाग्यवश हाम्रो जीवन र जगतलाई विविध प्रकारका नयाँ रोध व्याधि र महामारीले सताइरहेको छ।’
यस्तै शाहले राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको पनि उल्लेख गरेका छन् ।
जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय समेत पूर्वराजाले गरेका छन् ।