काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् ।
जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी महिलालाई प्रहरी कार्यालयबाट आफ्नै गाडीमा राखेर घर पुर्याउने मन्त्री श्रेष्ठलाई प्रधानमन्त्री ओलीले आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर कानुनमन्त्री श्रेष्ठले उक्त कुराको जानकारी दिएका हुन् ।
‘गाडीमा चढाएर लगे । यो दुर्भाग्य कुरा हो । राम्रो काम होइन । सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्रीज्यू, आवेशमा आएर यस्तो काम नगर्नुहोस् है । यो काम जुन तपाईंले गर्नुभयो, त्यो ठिक भएन भन्नुभएको छ ।’ कानुनमन्त्री श्रेष्ठले भने ।
सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । तीन दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घरसम्म छोडिदिएका थिए ।
मन्त्री श्रेष्ठको उक्त कार्यको सर्वत्र विरोध भैरहेको छ ।