• मंसिर १५ २०८१, शनिबार

माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ? : प्रधानमन्त्री

असार १४ २०७८, सोमबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालमाथि फेरि खनिएका छन् । ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्नका लागि आफूलाई बहुला कुकुरले नटोकेको बताए ।

केही दिनअघि नेता नेपालले आफूलाई ओली पक्षकाले प्रधानमन्त्री अफर गरेको भए पनि सहयात्री दललाई धोका दिएर आफूले ओलीको प्रस्ताव नस्वीकार्ने बताएका थिए।

ओलीले नेपालको उक्त कुरालाई धाकको संज्ञा दिएका छन्।

‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन् । अहिले धाक के लगाएर हिँडेका छन्- केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर,’ प्रधानमन्त्री ओलीले भने,‘मलाई बहुला कुकुरले टोकेको छ र! नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला।’

उनले अहिले नेता नेपालले आफ्नो महत्व बढाइरहेको आरोप लगाए।

‘कहिले अध्यक्षको प्रस्ताव राखेको छ भन्छन्। एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि जन्तु पूर्व फर्किए त्यो पश्चिमतिर हुन्छ । पछाडि पछाडिसँगै हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।