काठमाडौं । भदौमा हुने नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाले पुनः नयाँ नेतृत्वका लागि प्रष्पिर्धा गर्ने घोषणा गरेका छन् । देउवाले नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेसँगै काँग्रेस उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।
देउवाले प्रदेश स्तरीय अगुवा नेतासँगको छलफल र धारणा बुझ्ने क्रमलाई गति दिएका छन् । उनले गत शनिबार प्रदेश-१ र प्रदेश-२ का अगुवा नेतालाई आफ्नो निवास (बुढानीलकण्ठ)मै बोलाएर छुट्टाछुट्टै छलफल गरेका हुन् । प्रदेश-१ को छलफलमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनील थापा, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भीष्मराज आङ्दम्बे, सीता गुरुङ, सुजता परियार, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, डा.डिला संग्रौला लगायतका नेताहरू सहभागी भएको स्रोतले बतायो ।
प्रदेशस्तरीय अगुवा नेतासँगको छलफलका क्रममा देउवाले काँग्रेस पार्टीलाई अझै बलियो, मजबुत, एकढिक्का र सुदृढ बनाउन फेरि आफ्नो नेतृत्वको आवश्यकता परेकोले आसन्न भदौमा हुने १४औँ महाधिवेशनमा पुनः सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका थिए ।
छलफलमा सहभागी काँग्रेसका एक नेताका अनुसार, ‘सभापति ज्यूले फेरि नेतृत्व लिनुपर्ने अवस्था आएको बताउनु भएको छ । देशमा लोकतन्त्र र संविधानको रक्षाका लागि आफूमात्र विकल्प भएकाले आगामी महाधिवेनमा नेतृत्व चयनका लागि आफूलाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।’
छलफलमा सहभागी उपसभापति विमलेन्द्र निधी, आनन्द ढुंगाना लगायतका अन्य केही नेता पनि थिए । देउवाले देशका सातैवटा प्रदेशका आफू इतरका नेतासँग यसरी नै क्रमशः छलफल गर्ने भएका छन् । महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुने भएको छ । नयाँ नेतृत्वका लागि अन्य शीर्ष नेता एवम पार्टी उपसभापति निधी, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले पनि आकांक्षा देखाएका छन् ।
यी नेताहरूले हिजो (शुक्रबार) छुट्टै छलफल गरेका छन् । कोइराला निवास महाराजगञ्जमा तीन नेताले भेटवार्ता गरेका हुन् । छलफलमा आसन्न महाधिवेशनसम्म मिलेर जाने सहमति भएको निष्कर्ष निकालेका छन् । यसअघि पनि उनीहरूले विमलेन्द्र निधि निवासमा लामो समय छलफल गरेका थिए ।
नयाँ नेतृत्वका लागि सभापतिको उम्मेदवारका दावेदारमध्ये काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि हुन् । नेता पौडेलले भदौमा सम्पन्न हुने पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि आफूनिकका केही शीर्ष नेतासँग हिजो (शुक्रबार) छलफल गरेका छन् ।
राजधानीको एक होटलमा पौडेलले आफूनिकट नेताहरू महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, शेखर कोइराला, प्रकाशशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, दिलबहादुर घर्ती, हृदयराम थानी, गगन थापा, प्रदीप पौडेल, धनबहादुर गुरुङ, बद्री पाण्डे, कल्याण गुरुङ, गुरुराज घिमिरे, कमला पन्त, जीवन परियारसँग छलफल गरेका छन् ।
यद्यपि वरिष्ठ नेता पौडेलले काँग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बताएका छैनन् । बरु उनले आफूनिकट नेताहरूसँग अनौपचारिक भेटवार्तालाई तीव्रता दिएका छन् । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पौडेल काँग्रेस सभापतिको प्रतिपर्धी हुने बताइए पनि उनले औपचारिक रूपमा घोषणा भने गरेका छैनन् ।