• मंसिर १४ २०८१, शुक्रबार

भदौमा सम्भव होला काँग्रेस महाधिवेशन ?

असार ६ २०७८, आईतवार

काठमाडौं । नेपाली काँग्रेसले आगामी भदौमा महाधिवेशन गर्ने तयारी गरेको छ । असार ४ गते काँग्रेस केन्द्रीय कमिटीको बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ गतेबाट सुरु गरी १९ गतेसम्म सम्पन्न गर्ने तयारी गरेको हो ।

यसअघि कोभिड–१९ संक्रमण तथा उच्चजोखिमबाट जनतालाई मुक्त गर्ने, संविधानको रक्षा र वैधानिक संकटबाट जोगाउन महाधिवेशन गर्ने दायित्व र जिम्मेवारी भएको भन्दै भदौ पहिलो साताभित्रै महाधिवेश सम्पन्न गर्ने तयारी काँग्रेसले गरेको थियो । तथापि कोभिड संक्रमणको दोस्रो लहर बढेपछि काँग्रेसले १४ औँ महाधिवेशनको तयारी बीचमै रोक्नु परेको काँग्रेस नेता प्रकाश महतले बताए ।

त्यस्तै काँग्रेस केन्द्रीय बैठकको समापन पश्चात् बाल्दै नेता महतले भने, ‘हामी चाहान्छौँ लोकतन्त्रको रक्षा होस्, संविधानको रक्षा होस् र त्यसमा जो पार्टीहरू, व्यक्तिहरू जोडिन चाहानुुहुन्छ, उहाँहरूलाई जोड्दै यसलाई अझ मजबुतिका साथ अगाडि बढाउने र संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने, वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मूल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएको छ त्यसको विरुद्ध बृहत्तर एकता जो लोकतन्त्रमा विश्वास गर्छ र संविधानमा विश्वास गर्छ ती पार्टीहरू र समुहहरूलाई जोड्दै लाने, एकताबद्ध बनाएर लाने निर्णय आजको पार्टीको बैठकले निर्णय गरेको छ । यसकासाथै काँग्रेसले वर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहाने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ ।’

त्यस्तै कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता नवीकरण गर्न बाँकी सदस्यका लागि असार ९ गतेसम्मको म्याद तोकेको छ । क्रियाशील सदस्यता छानविन समितिका संयोजक केशव रिजालले असार ४ गते विज्ञप्ति जारी गरी असार ९ गतेभित्रै नामावली पठाउन जानकारी गराएको सो विज्ञप्तिमा उल्लेख छ ।

विधान बमोजिम नविकरण गर्न छुट भएको भए, नवीकरण गर्नुपर्ने सदस्यको नामावली विवरण र शुल्क समेत नेपाली काँग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमा सबै जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका कार्यसमिति, वडा कार्यसमिति र सम्बन्धित क्रियाशील सदस्य स्वयंले असार ९ गते पठाइ सक्नुपर्ने विज्ञप्तिमा भनिएको छ ।

योसँगै देशमा जारी लकडाउन केही खुकुलो र कोभिड संक्रमण तथा उच्चजोखिम कम हुँदै गएपछि काँग्रेस केन्द्रीय कमिटीको बैठक बसेको थियो । उक्त कमिटीको बैठकले आगामी भदौ १६ गतेदेखि १९ गतेभित्रै आफ्नो महाधिवेशन सम्पन्न गर्ने तयारी थालेको छ । यसका लागि काँग्रेसले साउन १२ गते गाउँ तथा नगरपालिकाको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका र नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रिय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते एवम् एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रदेशको अधिवेशन भदौ १ र २ गरिने निर्णय गरिएको पनि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसको १४ औँ महाधिवेशन बाध्य भएर पनि गर्नुपर्ने अवस्था आएको छ । किनकि पार्टीलाई संवैधानिक संकटबाट जोगाउन भदौ महिनाभित्रै महाधिवेशन जसरी भएपनि सम्पन्न गर्नुपर्ने काँग्रेसको बाध्यता छ । संविधानको धारा २६९ को उपधारा ४९ख० अनुसार ५ वर्षभित्रै दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना समयसीमा बढाउन सक्ने प्रावधान छ । त्यसैमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म म्याद थप गरेको छ ।

यद्यपि संविधानले नै तोकेको समय सीमाभित्र काँग्रेसले आफ्नो १४ औँ महाधिवेशन सम्पन्न गर्न सकेन भने पार्टी नै नरहने अवस्था आउँन सक्ने पक्का छ । यसर्थ पटकपटक स्थगित हुँदै आएको काँग्रेस महाधिवेश यो पटक नभएमा पार्टी नै अवैध हुने भएकोले महाधिवेश हुने निश्चित छ ।

कोभिड–१९ संक्रमण तथा जोखिमबीच काँग्रेसले महाधिवेशन सम्पन्न गर्न निकै जोखिम छ । तथापि उच्च जोखिमको सामना गर्दै उसले महाधिवेश सम्पन्न गर्नुपर्ने अवस्था आएको छ । स्वास्थ्य सतर्कतको मापदण्ड अपनाएर वा अन्य कुनै भर्चुअल माध्यमबाट भएपनि यसपटक तोकिएकै मितिमा काँग्रेसले १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ ।