• मंसिर १५ २०८१, शनिबार

ओलीकै लाइनमा वरिष्ठ नेता झलनाथ खनाल !

असार ४ २०७८, शुक्रबार

काठमाडौं । नेकपा (एमाले) असन्तुष्ट पक्ष माधवकुमार नेपाल–झलनाथ खनाल समूहको केही नेता प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीतिरै आकर्षित हुन थालेका छन् । ओली समूहसँग विवाद चुलिदै गएपछि नेपाल–खनाल समूहका दोस्रो तहका केही नेताहरू राजनीतिक तथा वैचारिक रूपमा स्खलित हुँदै गएका छन् ।

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेताद्वय नेपाल–खनालले यसअघि पार्टी एकताका लागि विभिन्न चरणमा भेटवार्ता र छलफल गर्दै आएका छन् । तथापि उक्त भेटवार्ता र छलफलले आजसम्म मूर्तरूप भने लिन सकेको छैन । यसका साथै ओली र नेपाल–खनाल समूहका दोस्रो तहका केही नेताहरूले पनि राजधानीका विभिन्न होटलमा अनौपचारिक भेटवार्ता र छलफल गरेका छन् । उनीहरूको भेटवार्ता र छलफलले पनि पार्टी एकता टंगोमा पुर्याएको छैन ।

यसैबीचमा नेपाल–खनाल समूहका दोस्रो वरियताका केही नेताहरू राजनीतिक एवम् वैचारिक रूपमै स्खलिन भएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँगै मिलेर जानुपर्ने धारणा व्यक्त गर्छन् । तर, एमाले पार्टी एकीकरणका लागि सो समूहका वरिष्ठ नेताद्वय नेपाल–खनालले ओलीसँग संवाद गरिरहेको बताइएको छ । यद्यपि उनीहरू संवादको क्रममा रहेकै समयमा उनीहरूकै दोस्रो तहका नेताहरू ओलीसँग झुकेर भएपनि एकीकरण गर्नुपर्ने भन्दै विभिन्न सामाजिक सञ्चालमा आफ्ना धारणा राख्दै आएका छन् ।

एमाले असन्तुष्ट नेपाल–खनाल समूहलाई पार्टीमा फर्काउन ओलीले गत जेठ २७ गते एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव आह्वान गरेका थिए । तथापि त्यसको प्रतिउत्तरमा सो समूहले पनि ६ बुँदे प्रस्ताव आह्वान गरेको छ । त्यसयता ओलीले पार्टी एकताका लागि भन्दै कुनै पनि आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन् । एकताका अरू बुँदाहरू किनारा राखेर नेपाल–खनाल समूहले एमाले पार्टीको राजनीतिक एवम् वैचारिक संगठनका संरचना २०७५ जेठ २ मा नै फर्काउनुपर्ने भन्दै अड्डी कसिरहेको छ ।

नेपाल–खनालले उक्त अड्डी कसेपछि उनीनिकट दोस्रो तहका नेताहरू विस्तारै स्खलित हुँदै गएका छन् । नेता घनश्याम भुषाल, योगेश भट्टराई लगायतका केही नेताले ओलीले आह्वान गरेको ६ बँदे पार्टी एकता प्रस्ताव सकारात्मक भएको बताउँदै आएका छन् । तर, पछिल्लो चरणमा एमाले वरिष्ठ नेता झलनाथ खनाल पनि ओलीकै लाइनमा उभिएको अड्कल सुरु भएको छ ।

खनाल उपचारार्थ असार २ गते भारत गएका छन् । त्यसभन्दा पहिले उनी राजधानीकै एक अस्पतालमा उपचार गराइरहेको थिए । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनी भारत गएका हुन् । उपचारका लागी भारत प्रस्तान गरे पश्चात् खनालको हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गरिएको थियो । तर, उक्त विज्ञप्तिले यतिबेला आफ्नै समूहभित्र अविश्वासको वातावरण सिर्जना गरेको छ ।

यद्यपि नेपालनिकट नेता जगन्नाथ खतिवडाले सामाजिक सञ्चाल फेसबुकमा खनालको विज्ञप्तिमा चलखेल भएको भएको आरोप लगाए । खनाल भारततर्फ प्रस्थान गरेपछि विज्ञप्ति जारी हुनु र विज्ञप्तिका शब्दले खनालको भावनाको प्रतिनिधित्व नगर्ने खतिवडाको धारणा थियो । आफ्नै समूहभित्र विवाद चुलिदै गएपछि उनले उक्त सञ्जालबाट आफ्नो फेसबुक स्ट्याटस हटाएका छन् ।

पूर्वप्रधानमन्त्री तथा पार्टीको वरिष्ठ नेताको विज्ञप्ति एकाएक यसरी आउनुमा नेपाल समूहभित्रै खैलाबैला भएको छ । बाह्य राजनीतिक वृत्तमा भने उनी ओलीकै लाइनमा उभिएको टिप्पणी हुँदै आएको छ । उनकै हस्ताक्षर र सामाजिक सञ्जालमा सो विज्ञप्ति आउनु कुनै खेलाची नभएको बताइएको छ । तर, विज्ञप्ति प्रकाशन हुनुमा कसको दोष रहेछ रु खनाल उपचार पश्चात् नेपाल फर्किए थाहा हुने नै छ ।

एमाले भित्रको विवादले विभाजनतर्फ डोर्याएको छ । तथापि नेपाल–खनाल समूहका दोस्रो तहका नेताहरूले २०७५ जेठ २ को विषयमा सहमति भएपनि नयाँ दलमा आफूहरू नजाने सार्वजनिक रुपमै बताएका छन् । योगेश भट्टराई र भीम आचार्यले यस्तो धारणा राखेका हुन् । उनीहरूले यस्तो बताएपछि नेपाल–खनाल समुहका नेता उनीहरूमाथि खनिएका छन् ।