काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले (अध्यक्ष) केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर–वरिष्ठ नेता राजेन्द्र महतो (महन्थ–राजेन्द्र) समुहले सत्ता गठबन्धन गरेसँगै अर्का अध्यक्ष उपेन्द्र यादव–संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई (उपेन्द्र–बाबुराम) समूह रूष्ट बनेको छ ।
प्रधानमन्त्री ओलीले पहिलो पटक संसद् विघटन गरे पश्चात् विरोधमा उत्रिएको जसपा महन्थ–राजेन्द्र समुहले एकाएक सत्ता गठबन्धनका लागि उनीसँग साझेदारी गर्ने बतायो । सत्ता साझेदारीकै लागि ओलीले जसपा महन्थ–राजेन्द्र समूहलाई प्रस्ताव गरे । त्यसपछि जसपाकै अर्को समूह उपेन्द्र–बाबुराम समुहले उनीसँग सत्ता गठबन्धन गर्न नहुने अडान राख्यो । तर, उक्त समुहले पार्टीसँग कुनै छलफल र परामर्श नगरी ओलीसँगै सत्ता साझेदारी गरेको छ ।
संसद् विघटन पश्चात् प्रधानमन्त्री ओली नेतृत्वको सरकार कामचलाउमा परिणत भएको छ । सरकार कामचलाउमा परिणत भएसँगै पटकपटक मन्त्रिमण्डल विस्तार गरिएको छ । गत जेठ २७ गते १९ औं पटक मन्त्रिमण्डल विस्तार गरिएको छ । ओलीले यसपटक जसपा महन्थ–उपेन्द्र समुहका ११ जना मन्त्री थपेर मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।
योसँगै जसपा उपेन्द्र–बाबुराम महन्थ–राजेन्द्र समूहसँग निकै रूष्ट बनेको छ । पार्टीभित्र देखिएको विचलन र फुटको सम्मुखमा पुगेको जसपा दुई समूह एकआपसमा चिडिदै गएका छन् । एक समूहले अर्को समूहलाई कारबाही गर्नेदेखि चर्को आलोचना गर्दै आएका छन् भने आपसमा बोलीसमेत बाराबारको अवस्था सिर्जना भएको छ ।
जसपा दुवै समुहले एकअर्कालाई कारबाही गरे पनि निर्वाचन आयोगले मान्यता नदिई पार्टी पूर्ववत् अवस्थामै रहेको निर्णय गरेको छ । यो निर्णयसँगै जसपाको एकता हुनसक्ने राजनीतिक वृत्तमा चर्चा चलेको थियो । तथापि उपेन्द्र–बाबुराम समुहले महन्थ–राजेन्द्र समूहसँग एकता असम्भव नभएको बताएको छ ।
उपेन्द्र–बाबुराम समूहका नेता नवराज सुवेदीका अनुसार, ‘महन्थ–राजेन्द्र लगायतका नेताले पहिलेको अडान त्यागेर ओलीसँग सत्ता गठबन्धन गर्नु भएको छ । उहाँहरूले पहिलो पटक संसद् विघटन भए पश्चात् जुन निर्णय र अडान लिनु भएको थियो । त्यसैमा अडिग रहनसक्नु भएन । विस्तारै स्खलित हुँदै ओलीसँग सत्ता गठबन्धन गर्नु भएको छ । यो पार्टीको हितविपरीत भएकोले अब उप्रान्त उहाँहरूसँग मिलेर जानसक्ने अवस्था छैन ।’
त्यस्तै उक्त समूहकै अर्की नेतृ रेनुकुमारी यादवले भनिन्, ‘महन्थ–राजेन्द्र समूहसँग एकता समाप्त भैसकेको छ । महन्थ लगायतका ४ जना नेतालाई पार्टीले निष्कासन गरिसकेको छ । अब आइन्दा उहाँहरूलाई पार्टीमा फर्काउने सपना पनि देखेका छैनौँ । उहाँहरुलाई जसपामा कुनै पनि पदिय दायित्व र जिम्मेवारी पनि छैन । बहुमतको निर्णयले निष्कासन गरेका हौँ । पार्टीबाट निष्कासन भैसकेको व्यक्ति पार्टीमै पुनः फर्काउनु हाम्रो नैतिकताले पनि दिँदैन ।’ यसअघि पार्टीको निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता गठबन्धन गरेको भन्दै उपेन्द्र–बाबुराम समूहले पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारबाही गरेको छ । उनीहरूलाई गरेको कारबाहीबारे अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई जानकारी गराएका थिए । त्यसपछि उनले आयोगलाई जसपाको रेकर्डबाट हटाएर विवरण अद्यावधिक गर्न आग्रह गरेका थिए । बहुमत केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित पेस गरिएको उक्त पत्रलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ ।
त्यस्तै अध्यक्ष उपेन्द्र यादवलाई अर्का अध्यक्ष महन्थ ठाकुरले पनि कारबाही गरेका छन् । यद्यपि एकअर्काले आपसमा कारबाही गरे पनि निर्वाचन आयोगले अस्वीकार गरेपछि अब के गर्ने भन्नेबारे दुवै समूह छलफलमा जुटेका छन् । उपेन्द्र–बाबुराम समुहले भने जसपा कार्यकारिणी बैठक बिहीबार ११ बजे बोलाएका छन् । पछिल्लो राजनीतिक परिस्थितिका बारेमा निर्णय लिन असार ३ गते बिहान ११ बजे बैठक बोलाएका छन् ।
बैठक केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको छ । कार्यकारिणी समितिलाई पठाएको पत्रमा भनिएको छ, ‘वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्वपूर्ण निर्णयहरू गर्नुपर्ने भएकोले उपस्थित भइ दिनु हुनको लागि अनुरोध गरिन्छ ।’ यो समितिको बैठक पश्चात् पार्टी एकता हुने वा नहुने सम्बन्धमा पनि छलफल हुने बताइएको छ । जसपा दुवै सुमूहका नेताहरूका अनुसार पार्टी एकताको सम्भावना सकिएको छ ।