लेनिन सबैले सोचेभन्दा फरक नेता हुन् । उनी विचारक र प्रयोगकर्ता दुवै हुन् । सामाजिक जीवनमा विचारको प्रयोग धेरै जटिल कार्य हो । समाजमा विविधता, बहुलता, सामाजिक तह र तप्का र फरक मत र असमान चेतना हुन्छ । यस्तो सामाजिक परिवेशमा विचार प्रयोग मार्फत् आमूल सामाजिक रुपान्तरण गर्नु अपवाद नै हुन आउँछ । लेनिन, अपवादका रुपमा, हालसम्मको विश्वमा सफल विचार प्रयोगकर्ताका रुपमा देखिएका छन् । यो आफैमा प्रयोगशालामा गरिएको विशिष्ट वैज्ञानिक प्रयोग जस्तो होइन ।
मार्क्सवादका प्रवर्तक कार्ल मार्क्स र उनका अनन्य वैचारिक सहयोगी फ्रेडरिक एङ्गेल्सलाई जसरी उनका विरोधी विचार राख्नेले पनि खुइल्याएर नाङ्गेझार पार्न सक्दैनन्, त्यसरी नै लेनिनलाई उनका कट्टर विरोधीहरुले तमासा देखाउने गरी विरोध गर्न सक्दैनन् । मार्क्सवादी भाषा र शब्दावली प्रयोग गर्ने हो भने उनका ‘वर्गबैरी’ले पनि उनलाई वडो सावधानीका साथ छुनु र कोट्याउनु पर्ने हुन्छ । किनकि, यसको मूल्य उनीहरुलाई चर्को पर्न सक्छ ।
लेनिनले मार्क्सवादलाई रुसी भूमिमा सफलताका साथ रोपे, उमारे र हुर्काए पनि । माक्र्सले निर्माण गरेको विचार प्रयोगमा आयो । विश्वमा साम्यवादी समाजवाद अस्तित्वमा आयो । यो व्यवहारतः प्रयोग भयो । यस अघि माक्र्सको माक्र्सवाद फगत ‘एकेडेमिक’ भएको आरोप लगाउनेहरुको मुख सदाका लागि बन्द हुन गयो । यो असामान्य सफलताका लागि लेनिनले धेरै विचार पुर्याउनु परेको थियो । ती मूलतः विचार र व्यवहारमा प्रकट भएका थिए ।
१. पहिलो कुरा, मार्क्सले कम्युनिष्ट समाजवाद संसारभर एकै पटक लागु हुन्छ । र, तयो पनि औद्योगिक पुँजीको विकास भएको युरोपबाट हुन्छ भनेका थिए । यसलाई लेनिनले रुसी विशिष्टतामा विश्लेषण गरी हेरे । कम्युनिष्ट समाजवाद विश्वमा एकै पटकभन्दा पनि प्रयोग गरिने देशको देशीय विशिष्टता अनुसार लागु हुनसक्छ र यसको चरित्र एक देशीय हुन्छ भन्ने निष्कर्षमा पुगे । वर्गीय अन्तरविरोध जुन समाजमा चुलिएको छ, त्यहाँ वर्ग सङ्घर्ष अघि बढ्छ र युरोपको जस्तो औद्योगिक विकास हुन नसकेका देशमा पनि लागु हुन सक्छ ।
२. जटिल रहेको पुँजीवादी साम्राज्यवादको सरल एवम् वस्तुवादी विश्लेषण उनको अर्को खुबी थियो । साम्राज्यवादको वस्तुवादी शल्यक्रिया गर्न नसकेको भए लेनिन समाजवाद स्थापना गर्न सफल हुने थिएनन् । लेनिनको भाषामा साम्राज्यवाद पुँजीवादको एक मरनासन्न अवस्था हो, त्यसैले यसको अन्त्य र समाजवादको उदय अवश्यंभावी छ । लेनिनको यो व्याख्याले साम्राज्यवादको विकल्पमा समाजवाद स्थापना हुने कुरा संभव देखाएको थियो ।
३ .यसै वैचारिक संश्लेषण र विशिष्टिकरणलाई लेनिनले अघि बढाए । फलतः रुसमा समाजवादी व्यवस्था स्थापना गर्ने सोचको बाटो खुल्यो । उनले रुसमा समाजवादी सत्ता स्थापनाका लागि ‘सशस्त्र विद्रोह’को मोडल अख्तियार गरे ।
४. समाजवादी सत्ता स्थापनाका लागि मजदुर तथा किसानको एकतामा जोड दिए । यसले सहरमा मजदुर र गाउँमा किसानबीचको एकतालाई सुदृढ बनायो । तात्कालीन रुसी जारशाहीलाई परास्त गर्ने अस्त्र साबित भयो यो ।
५. लेनिनमा रणनीतिक सोचलाई व्यवहारमा प्रयोग गर्नका लागि चरणबद्ध रुपमा कार्यनीतिक श्रृंखलाको पहिचान र तिनको उध्र्वतर विकासका लागि सजीव र कलात्मक शैलीमा प्रयोग गर्न सक्ने गुण, क्षमता र कौशलता थियो ।
६.रुसमा समाजवाद स्थापनाका लागि आधारहरु तयार गर्न अक्टोवर समाजवादी क्रान्ति सम्पन्न भएलगत्तै उनले जनवादी कार्यक्रमहरु दिए ।
यस अतिरिक्त लेनिनले समाजवाद स्थापनाका लागि अरु धेरै कुराहरुमा विकास गरेका छन् । मुख्य कुरा उनले मार्क्सवादलाई ‘एकेडेमिक’ र ‘युटोपिया’ हुनबाट बचाए ।