• मंसिर ११ २०८१, मंगलवार

स्पेनको क्याथेरेस सहरमा लुम्बिनी गार्डेन निर्माण गरिने

बैशाख ४ २०७८, शनिबार

काठमाडौं । स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस सहरमा पर्यटन तथा धार्मिक महत्व झल्काउने गरी लुम्बिनी गार्डेन निर्माण गरिने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनद्वारा अघि सारिएको महत्वाकांक्षी योजनामा झन्डै १० अर्ब रुपैयाँ खर्च गर्ने भनिएको छ । नगरमा निर्माण हुने उक्त गार्डेन निकै आकर्षक र ऐतिहासिक महत्वको हुने छ ।

स्पेनको सहरमा निर्माण गर्न लागिए पनि नेपाली ‘आर्टिटेक्चर थिम’ यसको निर्माणमा फलोअप गरिने भएको छ । ता कि यसले नेपालीपन त्यहाँ पनि दिन सकोस् । गार्डेनमा ४० मिटर अग्लो बुद्धको मूर्ति सबैभन्दा बढी आकर्षणका रुपमा रहने छ । लुम्बिनी गार्डेन राजधानी म्याड्रिडमा बनाइने चर्चा चले पनि अहिले त्यो क्याथेरेस नगरमा बनाइने गरी ठेगान लगाइएको छ ।

एक्स्त्रेमादुरा प्रदेशमा निर्माण गरिन लागेको उक्त गार्डेनले स्थानीय जनतामा पनि निकै खुशी ल्याएको छ । फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभाले यो नगरको गौरव हुने बताएका छन् । उनले परियोजनाका लागि जमिन प्राप्त हुनु आफैंमा महत्वपूर्ण रहेको भन्दै स्पेन सरकारको पूर्ण सहयोग र समर्थन रहेकोमा खुशी पनि साटिरहेका छन् ।

गार्डेन निर्माणका लागि जमिन पाइन्छ वा पाइँदैन भन्ने कुराको हल भएपछि उक्त योजनाको ५० प्रतिशत काम सफल भैसकेको उनको दाबी रहेको छ । यसमा स्पेनको केन्द्रीय तथा प्रदेश सरकारको पूर्ण सहयोग र समर्थन रहेको छ । अबको दुई वर्षमा शिलान्याससँगै निर्माणको काम थालनी गरिने र १० वर्षमा परियोजना सम्पन्न गरिसक्ने अध्यक्ष भिलानोभाले बताएका छन् । यसमा नेपाल सरकारको पनि साथ र समर्थन रहेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित लुम्बिनी क्षेत्रका नगर प्रमुखहरुहरले त्यहाँ साताव्यापी भ्रमण गर्दा उक्त अभियानमा साथ दिएका छन् ।

लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राम नगरको माटो बोकेर स्पेन उत्रिएका नगरप्रमुखहरुले काथेरस नगरको माटोसँग मिसाएर राखी गार्डेन बन्ने स्थानमा पिपलको रुख रोप्दै परियोजनाको शुभारम्भ गरेका पनि छन् ।

त्यहाँ निर्माण हुन लागेको लुम्बिनी गार्डेनमा म्यानमार, चिन, थाइल्याण्ड, श्रीलङ्का लगायत देशहरुबाट बौद्वधर्मप्रति आस्था राख्ने संघसंस्था तथा व्यक्तिहरुबाट समेत सहयोग गरिने छ । यस अभियानमा प्रत्येक शान्तिप्रिय मानिसले हातेमालो गर्ने विश्वास गरिएको छ ।