बुटवल : भिजन लुम्बिनी ऊर्जा कम्पनीले सेयरधनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको छ। बिहीबार बुटवलमा सम्पन्न लिमिटेडको आठौं वार्षिक साधारणसभाले ३. ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित विभिन्न निर्णय गरेको हो।
कम्पनीको सञ्चालक समितिबाट प्रस्तावित तथा हाल कायम रहेको १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजीको ३. ६८ प्रतिशतका दरले हुन आउने ७ करोड ४० लाख ६० हजार ५ सय नगद लाभांश सेयरधनीलाई प्रचलित कानुनबमोजिम कर कट्टी गरी वितरण गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो।
लाभांश वितरणसँग सम्बन्धित कर प्रयोजनका लागि ३५ लाख २३ हजार २६ रुपैयाँ विनियोजन गर्ने प्रस्तावसमेत अनुमोदन गरिएको कम्पनीले जनाएको छ। कम्पनीका सञ्चालक समिति अध्यक्ष सुदीपसिंह अधिकारीले ऊर्जा क्षेत्रमा सम्भावनाको खोजी गर्दै कम्पनीलाई थप उचाइमा पुर्याउने लक्ष्य लिइएको बताए।
प्रबन्ध सञ्चालक जगतबहादुर पोखरेलले बुटवलबाट कर्पोरेट संस्कृति, सामूहिक लगानी र समावेशी सहभागितालाई प्राथमिकता दिँदै अघि बढेको भिजन लुम्बिनी देशभर विस्तार हुन सफल भएको सुनाए।
कार्यक्रममा एचआईडीसीएलका प्रतिनिधि इन्जिनियर वासुदेव भण्डारी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेललगायतले बोल्दै भिजनले नेपाली ऊर्जा क्षेत्रमा उल्लेख प्रगति गरिरहेको धारणा राखे।
कम्पनीका सल्लाहकार गणेशकुमार श्रेष्ठ, नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य तथा पूर्वसञ्चालक सन्तोष पोखरेल, सेयर सदस्यहरू चिरञ्जीवी पौडेल र लक्ष्मण घिमिरेलगायतले कम्पनीको वर्तमान अवस्था, ऊर्जा क्षेत्रको सम्भावना तथा आगामी कार्यदिशाबारे धारणा राखेका थिए।
कम्पनीमा हाल १ हजार ४ सय ८२ सेयर सदस्य छन्। सेयरधनीको सहभागिता र विश्वासलाई आत्मसात् गर्दै ऊर्जा क्षेत्रमा कम्पनीले लगानी विस्तार गर्दै आइरहेको छ। कम्पनीको ११औं वार्षिक साधारणसभासमेत सम्पन्न भएको छ।
साधारणसभाले चुक्ता पुँजीको ४ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए। २० प्रतिशत सेयर सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको उनले बताए।