काठमाडौँ l सप्तरीको बोदेबरसाईन नगरपालिका–७ हैठीमा स्याललाई ठक्कर दिएको मोटरसाइकल दुर्घटनामा अग्निसाइर कृष्णासवरणका करिब ५० वर्षीय नजरुल मियाँको मृत्यु भएको छ।
सिरहाको बलान बिहुल गाउँपालिका–६ सेहरा चोकमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २० वर्षीय राजीव पासवानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सप्तरीमा भएका थप दुर्घटनामा दुई मोटरसाइकल दुर्घटना, भारतीय कारको ठक्कर र नहरमा खस्दा तीन जना घाइते भएका छन्।
३० कात्तिक, सप्तरी । सप्तरीमा मोटरसाइकलले स्याललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बोदेबरसाईन नगरपालिका–७ हैठीस्थित हुलाकी सहाय खण्डमा प्र.२–०१–००२ प ४१६३ नम्बरको मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परेर मोटरसाइकल चालक अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ मल्हनियाँका करिब ५० वर्षीय नजरुल मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेका मियाँको उपचारका क्रममा निधन भएको हो । मोटरसाइकलको पछाडि सवार उनका २२ वर्षीय छोरा मो. नजामुल मियाँ भने घाइते भएका छन् ।
त्यस्तै, सप्तरीको बलान बिहुल गाउँपालिका–६ सेहरा चोकस्थित हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको छ ।
चन्हीबाट बोदेबरसाईनतर्फ जाँदै गरेको म.प्र.०१–००५ प ५६७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक बलान बिहुल गाउँपालिका–२ चन्हीका २० वर्षीय राजीव पासवान घाइते भएका थिए ।
उनको उपचारकै क्रममा आइतबार दिउँसो १:१० बजे चिकित्सकले उनलाई मृत घोषणा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यसैगरी बोदेबर्साइन नगरपालिका वडा नम्बर–७ हैठीस्थित हुलाकी सहाय खण्डमा मोटरसाइकल दुर्घटना हुँदा बोदेबरसाईन नगरपालिका वडा नम्बर– १० श्रीपुरका मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय विजय मण्डल र पछाडि सवार २१ वर्षीय राम प्रकाश साह घाइते भएका छन् ।
यस्तै, सप्तकोशी नगरपालिका–११ भगनीमा भारतीय नम्बरको कारको ठक्करबाट एक साइकलयात्री गम्भीर घाइते भएका छन् । फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको भारतीय कारले सोही दिशातर्फ गइरहेका साइकलयात्रीलाई पछाडिबाट ठक्कर दिएको हो ।
ठक्करबाट सप्तकोशी नगरपालिका–११ भगनीका करिब ५० वर्षीय दनाई सदा घाइते भएका हुन् ।
त्यसैगरी, अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ बग्दुवामा मोटरसाइकल अनियन्त्रित भई नहरमा खस्दा एक युवक गम्भीर घाइते भएका छन् ।
महुलीबाट लोहजरातर्फ जाँदै गरेको प्रदेश १–२०४५ प ९८४९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको नहरमा खसेर दुर्घटना भएको हो ।
सो दुर्घटनामा मोटरसाइकल चालक तिरहुत गाउँपालिका–५ लोहजराका १९ वर्षीय छोरा शैलेश कुमार साह घाइते भएका छन् ।