• मंसिर ५ २०८३, शुक्रबार

हाइटीका राष्ट्रपतिको हत्यामा अमेरिकी चर्चका पादरी दोषी ठहर

मंसिर ५ २०८३, शुक्रबार

काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्यामा संलग्न फ्लोरिडाका एक पादरी दोषी ठहर भएका छन् ।

अमेरिका र हाइटीको दोहोरो नागरिकता भएका ६७ वर्षीय क्रिस्चियन इम्यानुएल साननलाई हत्या वा अपहरण गर्ने षड्यन्त्रसहित उनीविरुद्ध लगाइएका आठवटै अभियोगमा दोषी ठहर गरिएको हो । उनलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने बीबीसीले जनाएको छ ।

साननमाथि सन् २०२१ मा मोइसलाई सत्ताबाट हटाएर आफू राष्ट्रपति बन्ने योजना बनाएको आरोप थियो । राष्ट्रपति बनेपछि फ्लोरिडास्थित एक सुरक्षा कम्पनीलाई आकर्षक सरकारी ठेक्का दिलाउने उनको उद्देश्य रहेको अभियोगमा उल्लेख छ ।

सीबीएस न्युजका अनुसार मियामीस्थित संघीय अदालतमा आठ सातासम्म चलेको सुनुवाइपछि बुधबार उनलाई दोषी ठहर गरिएको हो । उनका वकिलले सानन निर्दोष रहेको दाबी गर्दै फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

अभियोजनकर्ताहरूका अनुसार साननले सन् २०२१ को अप्रिलमा अन्य सहयोगीहरूसँग भेटेर राजधानी पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपति भवनमा सशस्त्र आक्रमण गरी मोइसलाई सत्ताच्युत गर्ने योजना बनाएका थिए ।

उक्त योजनामा काउन्टर टेररिस्ट युनिट फेडेरल एकेडेमी र काउन्टर टेररिस्ट युनिट सेक्युरिटी (सीटीयू)का प्रमुखहरू पनि संलग्न थिए ।

उनीहरूले पूर्वाधार परियोजनाका सरकारी ठेक्का पाउने र सुरक्षा बल तथा उपकरण आपूर्ति गर्ने सर्तमा कू का लागि आर्थिक सहयोग गर्ने योजना बनाएका थिए ।

अमेरिकी न्याय विभागका अनुसार केही महिनापछि षड्यन्त्रमा सहयो गरेका व्यक्तीहरूले साननसँग राष्ट्रपति बन्न आवश्यक संवैधानिक योग्यता र जनसमर्थन दुवै नभएको निष्कर्ष निकालेका थिए । त्यसपछि उनीहरूले अर्कै व्यक्तिलाई अघि सार्ने निर्णय गरे । अनुसन्धानकर्ताहरूका अनुसार यसै क्रममा मोइसलाई सत्ताबाट हटाउने योजना उनको हत्या गर्ने षड्यन्त्रमा परिणत भएको थियो ।