भक्तपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन् ।
शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध ‘जिहाद छेड्नुपर्ने बेला आउँदै गरेको’ बताएका हुन् ।
उनले राष्ट्रिय जागरण अभियानलाई त्यसैको तयारीका रूपमा लिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गता भएका व्यक्ति र लाखौँ जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको उनको आरोप छ ।
पछिल्लो राजनीतिक परिस्थितिले देशलाई अर्को दुर्घटनातर्फ लैजाने षड्यन्त्रको सङ्केत गरिरहेको दाबी गर्दै दाहालले शान्ति सम्झौताको मर्म र संविधानको भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिए ।
उपलब्धिमाथि भइरहेको प्रहारबारे सचेत गराउँदै दाहालले भने– ‘हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्ग र लाखौँ जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि चुनौती देखिएको छ । यसले देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ धकेल्ने जोखिम उत्पन्न गरेको छ ।’
देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा अघि बढाउन नयाँ सङ्कल्प र प्रतिबद्धतासहित आन्दोलनमा उत्रिनुपर्ने उनले बताए ।
शान्ति सम्झौताको ऐतिहासिकता, संविधानको महत्व र सङ्घर्षबाट प्राप्त उपलब्धिबारे जनतालाई सचेत गराउन घरघर र टोलटोलसम्म पुग्नसमेत उनले कार्यकर्तालाई निर्देशन दिए ।