ट्रम्प अहिले महासंकटमा छन् । उनका अघिल्तिर २ वटा ऐतिहासिक चुनौती छन् । पहिलो स्वयम् अमेरिका विश्व महाशक्तिबाट च्युत हुँदैछ । दोस्रो, उनले यो चुनौतीबाट पार पाउन ‘मेक अमेरिका ग्रेट अगेन’ को नारा अघि सारेका छन् । यी दुबै उनका लागि र अमेरिकाका लागि पनि इतिहासको यो विन्दुमा आइलागेका गम्भीर चुनौती हुन् ।
यो बेलामा नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेशन (नेटो) पनि काम नलाग्ने भइसकेको छ । युरोप बूढो भइसकेको छ । उसले आफ्नै स्याहार आफैले पनि गर्न नसक्ने अवस्था छ । युरोपको शानको रूपमा रहिआएको फ्रान्स अहिले आन्तरिक बिजोग बेहोरिरहेको छ ।
ट्रम्प विश्वमा हाकाहाकी लुटेर भए पनि बाँच्न सक्नुपर्छ भन्ने ध्याउन्नमा छन् । उनले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई डकैती शैलीमा रातारात उठाएर त्यसै ल्याएका होइनन् । तर यो शैलीको युरोपले विरोध गर्यो । ट्रम्पलाई साथ दिएन । यहिँनेरबाट अमेरिका युरोप खटपट सुरू भयो । नेटोभित्र फाटो आयो ।
युरोपले अमेरिकालाई अर्को काममा पनि साथ दिएन । उल्टै आलोचना गर्यो । त्यो हो इरानमाथि अमेरिकी इजरायली आक्रमण । त्यसपछि ट्रम्प रसियासँग सिधासिधा वार्ता र वार्गेनिङमा उत्रिए । रसियासँगको वार्तामा युक्रेनलाई ‘वार्गेनिङ चिप्स’ बनाए । अहिले यो चिप्सले काम गर्न थालिसकेको छ ।
अब नेटो गठबन्धनको पछि लागेर भलो नहुने ठहर गरिसकेपछि ट्रम्प एशियाली देशसँग सहकार्यमा लहसिन थालेका छन् । त्यसमा पनि रूस उनको प्राथमिकतामा परिसकेको छ । रूसले चाहेको रूसले पूरा गर्ने अनि अमेरिकाले चाहेको कुरामा रूसले सहयोग नै नगरे पनि चूप लागेर बसिदिने चाहना ट्रम्पको छ ।
रूसले कब्जा गरेको युक्रेन रूसको भाग मानिदिने तर बाँकी युक्रेन अमेरिका आफूले लिने दाउँमा ट्रम्प छन् । युक्रेनमा रहेका अतिदुर्लभ खनिजको भण्डार आफ्नो हातमा लिने दाउँमा उनी छन् । यसको खुलासा युक्रेनी राष्ट्रपति जेलेन्स्की आफैले सञ्चारमाध्यमबाटै गरिरहेका छन् ।
रूससँग मिलेपछि उत्तर कोरियासँगको सम्बन्धमा पनि सुधार आउने र विश्वमा रूसअमेरिका गठबन्धन बनाएर दाइँ लगाउने रोडम्यापमा छन् ट्रम्प । भखैरै मात्र रूससँग सम्झौता गरेर ट्रम्पले तेल आपूर्ति गर्ने मार्ग खुलाएका छन् । यसले नोभम्बरमा हुन गइरहेको मध्यावधी निर्वाचनमा उनलाई धेरै सहजता र सुविधा दिलाउने देखिन्छ ।
रूससँग मिल्दा युरोपको असहयोगले पुर्याएको क्षतिपूर्ति लिने दाउँमा ट्रम्प देखिन्छन् । अर्कोतिर उदाउँदो एशियासँग हातेमालो गर्न पाएमा अमेरिकालाई महाशक्तिका रूपमा बचाइराख्ने उनको सपना छ । त्यसैले उनले नीति, नैतिकता, प्रजातन्त्र र मूल्यमान्यतामा लात हानिरहेका छन् । जहाँबाट र जेजसरी स्वार्थ पूरा हुन्छ, त्यहि गरिरहेका छन् ।
यी सबैभन्दा पनि ट्रम्पको रणनीति भनेको विश्व अतिमहाशक्तिमा चीनको उदयलाई कसरी रोक्ने र धक्का दिने भन्ने उनको ध्येय रहेको छ । रूससँग मिल्ने मौका पाएमा उनले यो अवसर कसै गरे पनि गुम्न दिने देखिदैनन् । त्यसो त ट्रम्पको राष्ट्रपतिमा विजय हुँदा रूसले लगाएको गुन छँदैछ ।
अर्कोतिर चीनलाई कतै पनि उत्तेजित नगराउने रणनीतिमा अहिले पनि अडिग देखिन्छन् ट्रम्प । उनी चीन नझस्कने र रूस नतर्सने सन्तुलित रणनीति कार्यान्वयनमा लागि परिरहेका छन् । तर भित्री दाउँ भने उदाउँदो एशियालाई फुटाएर कुनै एकलाई हातमा लिई चीनलाई अतिमहाशक्तिको बाटोबाट ‘डिरेल’ गराउनु रहेकोमा भने कनै शङ्का छैन ।