भैरहवा l रुपन्देही प्रहरीले सोमबार राति पक्राउ परेका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँलाई रिहा गरेको छ ।
प्रहरीले सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको भन्दै संयोजक खाँ र वाजिउद्दिन मुसलमानलाई लुम्बिनीबाट नियन्त्रणमा लिएको थियो । मंगलबार छलफलपछि प्रहरीले दिउँसो दुवैजनालाई रिहा गरेको हो ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयको महाअभियानले निरन्तर विरोध गर्दै आएको छ ।
रिहा भएपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै संयोजक खाँले सरकारको निर्णयको विरोधमा पर्यटन मन्त्री खडकराज पौडेल (गनेस) को पुत्ला जलाएको विषयमा ‘माथिको आदेश’ले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।
‘मन्त्रीको पुत्ला किन जलाइयो भन्ने विषय रहेछ । यहाँ त सिंहदरबार पनि जलाए,राँके जुलुस पनि गरे यसमा केही भएन’,उनले भने,‘यो सरकारको दम्भ हो ।’उनले आफूहरू कानुनी राज्यको सम्मान गर्ने बताउँदै लुम्बिनीवासीको हकहितका लागि अभियान जारी रहने बताए ।