युद्ध चाहे दुई समुदाय बीच होस् वा दुई देश बीच होस् । सुरु भएपछि त्यसको तत्काल कुनै अन्तिम परिणाम र निर्णय हुँदैन । जुन इतिहासमा धेरै पटक देखिएको छ । शिया मुस्लिम र सुन्नी मुस्लिम समुदायका बीचमा ज्यानै लिने गरी कुनै आपसी र निजि मतभेद छैन । तर पनि बेलाबेला शिया र सुन्नीले एक अर्कामाथि हमला गरिरहन्छन् ।
शिया समुदायका लागि सम्भवतः चेतावनी थियो कि ? इरानका सुप्रिम लिडर अयातुल्लाह अली खमेनईलाई हत्या गर्नु भन्दा केही दिन अगाडि मात्रै पाकिस्तानको शिया मस्जिदमा नमाज पढ्ने बेला शुक्रबार (६ फेब्रुअरी २०२६) मा आत्मघाती बम विस्फोट गरियो । जुन हमला जुम्माको नमाजका बेलामै भयो । जसले गर्दा धेरै जनधनको क्षति भयो ।
जसमा करिब ३० भन्दा बढी मानिस मारिए र १७० भन्दा बढी घाइते भए । यसैगरी सन् २०२३ जनवरी ३० का दिन पेशावरमा जुहर नमाजका बेला आत्मघाती विस्फोट भयो । जसमा प्रायः सुन्नी पुलिसकर्मीहरू मारिएका थिए । जुन घटनामा १०० भन्दा बढीको मृत्यु र २०० भन्दा बढी घाइते भए ।
सन् २०२५ फेब्रुअरी २८ मा अकोरा खट्टकमा जुम्मा नमाजपछि दारुल उलूम हक्कनीया मदरसामा आत्मघाती हमला भयो । जसमा कम्तीमा ८ जनाको मृत्यु र दर्जनौं घाइते भए । यस्ता हमला शिया तथा सुन्नी समुदायको कुनै निजि रिस र डाहका कारणले गर्दा भएको हुँदैनन् । यी आक्रमणहरु केवल सुपर पावर हासिल गर्न खोजेका देशहरुले गर्न लगाउँछन् ।
विगतका कुरा गर्ने हो भने अमेरिका र उसका सहयोगीहरूले सन् १९६५ मा भियतनाममा नियमित सैन्य हस्तक्षेपका साथ प्रवेश गरे । उनीहरूलाई विश्वास थियो कि केही वर्षमै सबै समाप्त हुनेछ । तर युद्ध लम्बिँदै गयो र अन्ततः सन् १९७३ मा उनीहरूलाई त्यहाँबाट पछि हट्नुपर्यो ।
अर्थात् करिब आठ वर्षपछि फिर्ता हुनुपर्यो । दुई वर्षपछि, सन् १९७५ मा सैगोन पनि पतन भयो र भियतनाम एकीकृत भयो । यसैगरी अफगानिस्तानमा अमेरिका सन् २००१ मा आक्रमण गर्यो । त्यहाँ पनि यही सोच थियो कि अवस्था चाँडै नियन्त्रणमा आउनेछ । तर २० वर्षको युद्धपछि सन् २०२१ मा उनीहरूलाई त्यहाँबाट निस्कनुपर्यो ।
संसारले देख्यो कि यति ठूलो शक्ति पनि आफ्नो उद्देश्य पूरा गर्न सफल भएन् । फलिस्तिनको गाजा क्षेत्रमा इजरायलले हमासलाई लक्षित भनेर गरेको आक्रमणले त्यहाँ अत्याधिक विनास मच्चायो र नरसंहार गर्यो । अहिले पनि गाजापट्टीमा इजरायली आक्रमण जारी छन् ।
जसले फलिस्तिनका स्थानीय जनसमुदायलाई ठूलो मानवीय संकटमा पुर्याइरहेको छ । घाइते र पीडितहरूको संख्या बढिरहेको छ । संघर्षले सुरक्षा, स्वास्थ्य, र खाद्य संकटलाई गहिरो बनाएको छ । यति शक्ति हुँदाहुँदै पनि हमासलाई पूर्णरूपमा समाप्त गर्न सकेन । हरेक युद्धको सुरुवातमा लाग्छ कि ठूला शक्तिहरूले सबै कुरा कुचल्नेछन्, तर समयसँगै यिनै युद्धहरूले उनीहरूलाई थकित र कमजोर बनाउँछन् ।
इराकमा पनि अमेरिकाले विजयको घोषणा गरेको थियो, तर अवस्था फेरि बदलियो ।
मिडिया र सोसल मिडियामा विभिन्न जानकारहरुको अडकल छ कि इरानसँगको टक्राव उनीहरूको अन्तिम ठूलो गल्ती सावित हुनेछ । यद्यपि यसको लागि इरानले ठूलो मूल्य चुकाउनु पर्नेछ, धेरै कमाण्डर र बहादुर व्यक्तिहरू शहीद पनि हुनेछन् साथै ठूलो जनधनको क्षति समेत हुन सक्नेछ । तथापि अन्ततः अमेरिका र उसका सहयोगीहरूले आफ्नो प्रभुत्व गुमाउनेछन् ।
उनीहरूको विश्वव्यापी प्रभाव घट्नेछ । सन् २०३० सम्म संसारमा सुपर पावरको स्वरूप नै बदलिसकेको हुन सक्ने सम्भावना व्यक्त गरिदैछ ।
इरानका बलिदानहरू र उसको सिद्धान्तप्रतिको अडान इतिहासमा सम्झिनेछ । इरानी नेतृत्वको दृढता मानवताले लामो समयसम्म सम्झिनेछ । यो एक यस्तो अध्याय हुनेछ जसलाई आउने पुस्ताहरूले सम्मानका साथ हेर्नेछन् ।
अहिले संसार एउटा महान् शिया नेता आयातुल्लाह खामेनेई जस्ता निडर, बहादुर र शसक्त नेतृत्वबाट वञ्चित भएको छ । उनले न केवल फिलिस्तिनका पीडितहरूको पक्षमा आवाज उठाए । सम्पूर्ण विश्वका असहाय र उत्पीडितहरूको प्रतिनिधित्व पनि गरे । आवश्यकता पर्दा इरान भारत लगायतका देशहरुको पक्षमा दृढतापूर्वक उभियो ।
आफ्नो आस्था, दृढता र सिद्धान्तप्रतिको निष्ठाबाट उनले स्वाभिमानी मानिसहरूलाई यो शिक्षा दिए कि अपमानको जीवनभन्दा सम्मानको मृत्यु हजारौँ गुणा राम्रो हुन्छ । अहिले न्यायप्रेमी र उदार मन अत्यन्त दुःखी छन् चारैतिर शोकमग्न छ । उनको निधनको यो पीडादायी घटनाको सम्झनालाई ताजा गराएको छ । खामेनेई इरानका सर्वोच्च नेता सायद उनी आफ्नै जीवनको यो अन्तिम युद्ध लडिरहेका थिए ।
८६ वर्षको उमेरमा उनी केवल नेता मात्र होइन, एक आन्दोलन बनिसकेका थिए । यहाँनेर दुईटा कुरा स्पष्ट छन्, पहिलो कुरा त इरान टेक्नोलोजीमा यति अगाडि बढी सकेको छ कि उसको अगाडि इजरायल एक्लै ७२ घण्टा पनि टिक्न सक्दैन, एक्लै लड्न खोजे इजरायल ध्वस्त हुनेछ । दोस्रो कुरा अमेरिका र इजरायलको अगाडि एक्लै इरानको युद्ध लामो समयसम्म चल्न गाह्रो हुनेछ किनकि उनलाई थाहा थियो कि खामेनेई आत्मसमर्पण गर्ने छैनन् ।
अमेरिका र इजरायलको उद्देश्य स्पष्ट छ उसले इरानमा कठपुतली सरकार स्थापना गर्न खोज्दैछ । इरानको युरेनियममा नियन्त्रण गर्न खोज्दैछ । भेनेजुएला जस्तै इरानको तेलमाथि कब्जा गर्न खोज्दैछ । अमेरिका र इजरायलको एक मात्र उद्देश्य सम्पूर्ण इस्लामिक राजनीतिलाई ध्वस्त पार्नु हो । परमाणु हतियार केवल एउटा बहाना हो । जस्तै इराकमा “विपुल विनाशका हतियार”को आरोप लगाएर सद्दाम हुसेनलाई मारियो ।
उनको हत्या पनि षड्यन्त्रकै परिणाम थियो । आफ्नै मानिसहरूले विश्वासघात गरेका थिए । त्यतिबेला ती गद्दारहरूले अमेरिकासँग मित्रता गरेका थिए, तर दुई दशकपछि त्यही मित्रले उनीहरूलाई समाप्त गर्यो । शिया र सुन्नीको द्वन्द्व गराएर पहिले शियाको सहयोगले सुन्नीलाई मारियो ।
अनि अहिले सुन्नीको सहयोगले शियालाई मारिँदैछ । इस्लामिक संसारमा परमाणु हतियार एउटा सपना रहँदै आएको छ । केवल पाकिस्तानले सफलता पाएको छ, तर पाकिस्तान अमेरिकाको प्रभावमा रहेको छ । त्यसलाई इस्लामिक विश्वको स्वतन्त्र प्रतिनिधि मानिँदैन ।
इरान एक मात्र इस्लामिक देश हो, जसले यदि परमाणु हतियार बनायो भने इस्लामिक विश्वको राजनीति परिवर्तन हुनसक्छ । किनकि जगजाहेर छ खामेनेई अमेरिका–आश्रित नेता होइनन् र इरान पनि अमेरिका आश्रित देश होइन । उनलाई नियन्त्रण गर्न सक्ने हतियार एप्सटीन फाइलमा उनको नाम छैन । यदि इरान समाप्त भयो भने इस्लामिक विश्व लामो समयसम्म दासत्वमा जान सक्नेछ । यो युद्ध तेलका लागि होइन, किनकि संसारमा तेलको कमी छैन ।
यो युद्ध त केवल “शक्ति सन्तुलन र वैश्विक वर्चश्व” को लागि हो ।
खामेनेईको शासनले अमेरिका र इजरायलका लागि बाधा ठानेर नै उनलाई षड्यन्त्र पूर्वक हटाइयो । यतातिर इरानको कुर्दुस फोर्सका कमाण्डर इस्माइल क़ानी फेरि एक पटक हत्या प्रयासबाट सुरक्षित रहेका छन् ।
जुन दिन लेबनानमा हसन नसरुल्लाहलाई शहीद बनाइयो । त्यो दिन पनि उनी एक्लै जीवित बचेका थिए । १२ दिनसम्म चलेको युद्ध जसमा इरानको उच्च सैन्य नेतृत्वका अधिकांश व्यक्तिहरू मारिए तब पनि उनी सुरक्षित नै रहे ।
अहिले यो आक्रमण जसमा इरानका सर्वोच्च नेता अली खामेनेई, रक्षामन्त्री मेजर जनरल अजीज नासिरजादेह, इरानी सेना चीफ अफ स्टाफ अब्दुल रहीम मौसवी, इरानी सुरक्षा परिषद प्रमुख शमखानी, ईस्लामिक रिवोल्यूशनरी गार्डका कमान्डर मोहम्मद पाकपो, खामनेईकी छोरी, खामनेई की बुहारी, खामनेई का नाति र खामनेईका ज्वाईं शहीद भए ।
त्यसमा पनि उनी मात्र बाँचेका छन् । के इरानका सर्वोच्च नेता खामेनेईसँग विश्वासघात भएको हो ? पहिलो कुरा सैय्यद आयातुल्लाह अली खामेनेई आफ्नो उच्च पदाधिकारीहरूसँग आक्रमणको ठीक समयमा कहाँ थिए भन्ने जानकारी आक्रमणकारीलाई कसरी थाहा भयो ? अन्ततः यो खबर कसले दियो ? दोस्रो कुरा केही दिनअघि एउटा खबर धेरै फैलिएको थियो कि साउदी अरबले इतिहासमै पहिलो पटक शिया समुदायबाट मन्त्री नियुक्त गरेको छ ।
के यो षड्यन्त्र थियो वा इतिहास ? तेस्रो र महत्वपूर्ण कुरा खबरहरूको अनुसार आक्रमण चाँडो गर्नका लागि बारम्बार दबाब कसको तर्फबाट दिइएको थियो र किन ? कतै यस्तो त होइन कि यी सबै घटना एकआपसमा जोडिँदै गएका हुन् ।
इरान वरिपरि रहेका सबै अरब देशहरूले अमेरिकालाई बेस बनाउन राम्रो ठाँउ प्रदान गरेका छन् ।
अमेरिकी सेनाले आफ्ना अड्डा आफ्नै देशमा बनाए पनि, ती अड्डाहरूमा मिसाइल, राडार र हतियार जस्ता सबै सामग्री छन् । अरब देशहरूले यसमा अरबौं डलर खर्च गरेका छन् र खर्च पनि उनीहरूले उठाएका छन् । यद्यपि यी अमेरिकी सैन्यअड्डा अरब देशहरूको सुरक्षा लागि नभई इजरायलको सुरक्षा लागि बनाइएको हो ।
अमेरिका यी अड्डा प्रयोग गरेर सद्दाम हुसेनलाई मार्यो, इराकमा करोडौं मुस्लिम मारिए, अफगानिस्तान खण्डहर बन्यो र त्यहाँ पनि लाखौं मुस्लिम मारिए । लिबिया, सिरिया, यमन, लेबनान लगायतका ठाउँमा यहीँबाट आक्रमण गरियो । यी अरब देशहरूले यी अड्डाहरूलाई पैसा, तेल र रसद उपलब्ध गराएका छन् । जब इजरायलले गाजा क्षेत्रमा हमला गर्यो, सबै खाडी मुलुक चुप लागेर बसे, केवल इरान नै बोलेको छ ।
इजरायलले इरानमाथि हमला गर्यो, जसको विरुद्धमा इरानले इजरायलमा हमला गर्यो । इजरायलले हमला गर्दा यसको धेरै मिसाइलहरू अरब देशको आकाशबाट गुज्रिए, तर कसैले रोकेन । तर जब इरानले इजरायलमा हमला गर्यो, यी अरब देशहरूले इरानी मिसाइलहरू हवामा मारेर खसालिदिए र इजरायललाई क्षणक्षणको जानकारी दिए ।
पहिलो पटक इरानमाथि हमला हुँदा पनि इजरायली जहाज र मिसाइल यी अरब देशको आकाश हुँदै आएको थियो । तर कुनै रोकटोक भएन । जसको परिणामस्वरूप इरानको एक स्कूलमा बम पड्कयो जसमा करिब ८० विद्यार्थी (बालिका)हरु शहीद भए ।
बदला स्वरूप इरानले ७ वटा अरब देशका अमेरिकी अड्डामा हमला गर्यो जसलाई उसले पूर्ण रूपमा जायज ठान्दछ । इरानको यस हमलामाथि केहीले प्रश्न उठाएका छन् “इरानले इजरायलमा हमला गर्नु ठीक थियो, तर अरब देशमाथि किन ?” यी तिनै अरब देशहरू हुन् जो गाजामा बालबालिका भोक र तिर्खाले तड्पिरहँदा, आमाका काख रित्तिँदा, बच्चाहरु अनाथ भइरहँदा र वृद्धवृद्धाको सहाराहरु आँखा अगाडि मारिँदा, फिलिस्तिनी भाईबैनीहरूको मृत्युमा चुपचाप तमासा हेरेर बसे, तिनीहरूसँग कति पनि सहानुभूति देखाएनन् ।
तसर्थ जसलाई इरानमा खामेनेईको शासनमा कमीकमजोरी देखिन्छ । उनीहरुलाई साना बालिकाहरूलाई क्रुरताका साथ बलात्कार गर्ने, मार्ने र खाने मानिसहरूको अगाडि ती बालिकाहरुलाई निरीह छोडिदिनेहरुका विरुद्धमा खोई त बोलेका सबै चुप छन् ।
रिलिज गरिएको एप्स्टीन फाईलमा उल्लेख जानकारी अनुसार एप्सटीन आइलैण्ड जुन सानासाना बालिकाहरूको लागि नर्क थियो । हुन त ज–जसलाई संसारमा क्रुर शासक र रुढीवादी शासकको नामले बदनाम गरियो तिनी एउटा लिडरहरुको नाम एप्सटीन फाइलमा छैन ।
नाम नहुनेहरु मध्ये इरानका सुप्रिम लिडर अयातुल्लाह अली खमेनई, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ, चीनका राष्ट्रपति सी जिनपिङ, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान, रुसका राष्ट्रपति ब्लादिमिर पुतिन जसले अयातुल्लाह अली खामेनेईको हत्या “अमानवीय” र “निन्दनीय” भएको बताएका छन् ।
उनले भनेका छन् कि यो घटनाले मानवताको मूल सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन गरेको छ । पुतिनले यस प्रकारका कार्यलाई विश्व स्थिरताका लागि खतरनाक ठानेर चिन्ता व्यक्त गरेका छन् साथै भनेका छन् कि यसले मध्यपूर्वमा तनाव बढाउन सक्छ । एप्स्टीनको कोठामा कराइरहेका आफन्तबाट टाढा रहेका बालिकाहरूको तुलनामा इरानमा नकाब लगाएर हिँड्ने महिला र बालिकाको अवस्था धेरै हदसम्म ठीकै छ ।
उनले कम्तीमा उच्च शिक्षा हासिल गर्ने अवसर र आफ्नो परिवारबीच बस्न सकिरहेका छन् । एप्सटीन जस्तो अपराधको ढड्डा फाइलमा नाम भएका सेता पोसाकधारीहरू भन्दा खामेनेई धेरै सम्मानजनक नै छन् । किनकि खामेनेई ८६ वर्षको उमेरमा शहीद गरिए तर एप्स्टीन जस्तो दुष्चक्रमा फसेनन् ।
उनी बालिकाहरूको अपहरण र दुरुपयोग गर्नेहरुको गिरोहमा संलग्न भएनन् । त्यही भएर आज जगतमा उनलाई महाननायकको रुपमा देखिन्छ । उनले चाहेमा सम्झौता गर्न सक्थे र अझै बाँच्न सक्थे । तर इतिहासले सबैलाई एक यस्तो अवसर दिन्छ कि त कायर बन कि वीर, उनले वीरतालाई रोजे ।
उनी इरानका महानायक उत्कृष्ट नेतृत्वकर्ता थिए । उनको एक पुकारमा सारा संसारका शिया समुदाय लब्बैयक अर्थात हाजिर छु भन्थे । उनले आफ्नो देशका जनतासँग गरेको बाचा सदा पुरा गरे । कहिल्यै पछि हटेनन् र लुकेनन् । आफ्नै कार्यकक्षमा काम गर्दागर्दै शहीद भए । उनले शिया समुदायबाट त्यो बहादुरीको काम गरे, जुन शताब्दीसम्म कसैले गर्न सकेन् । खामेनेईको शहादतले इरान लगायत शिया समुदायमा उनको दर्जा अत्यन्त उच्च बनाएको छ ।
शहीद खामेनेई आउने पुस्ताका लागि आफ्नो समुदायमा पाठ बनेका छन् । अब युगौंसम्म इरान, इराक, लेबनान, जार्डन, युएस, युके, अफ्रिका, भारत पाकिस्तान, बंगलादेश लगायत देशका शिया समुदायले खामेनेई जस्तो महापुरुषलाई एक निडर सुप्रिम लिडरको रुपमा सम्झने छ । उनको शहादत यस शताब्दीकै सबैभन्दा ठूलो शहादत हो ।
विज्ञ र जानकारहरुले आंकलन गर्न थालेका छन् । यदि आउने दिनमा सुपर पावरको होडमा विश्व दुई खेमामा विभाजित भयो भने तेस्रो विश्व युद्ध निश्चित छ । (जानकारी श्रोतः गुगल, सोसल मिडिया र विभिन्न मिडियाका खबर)