फागुन २१ को सङ्घीय निर्वाचन अब मुखैमा आइसकेको छ । मतदानको दिन नजिकिँदै जाँदा राजनीतिक पार्टीका गठजोड, सहकार्य र गणितीय जोडघटाउका हिसाबकिताब क्रमशः राजनीतिक स्मार्ट बोर्डमा कोरिन थालिइसकेको आभाष हुन थालेको छ ।
सरकार कसको बन्ला ? प्रधानमन्त्री को होला ? बहुमतको सरकार कसको बन्ला ? नभए मिलिजुली सरकार कसको बन्ला ? प्रतिपक्षमा को बस्ला ? कुन राजनीतिक पार्टी अबका दिनमा सङ्ग्रहालय नजिक पुग्लान् ? यावत् रोचक कुरा धेरैको मनमस्तिष्कमा खेल्न थालिसकेका पनि छन् ।
यस्ता कुरा समय चक्रले नजिक्याउँदै ल्याउँछन् । वाम एक ठाउँमा आउनु पर्छ । प्रजातान्त्रिक शक्ति एक ठाउँमा आउनु पर्छ । यति मात्र होइन, पुराना एक ठाउँमा हुनु पर्छ । र, नयाँ अर्को ठाउँमा हुनु पर्छ । यी कुरा पनि छ्याल्ल ब्याल्ल छन् अहिले ।
यति नै बेलामा कतिपय निकै झिना र मसिना देखिने कुरा तर तिनले भविष्यमा केही मूर्ताकार लिन सक्ने प्रकृतिका अभ्यास र चलखेलले आकार लिन पनि थालिसकेका देखिन्छन् । हालसम्मको राजनीतिक माहौल हेर्दा मिलिजुली सरकार बन्ने आँकलन धेरैको छ । भावी राष्ट्रपतिको छायाँरूपी चलखेलले मिलिजुली सरकारको आभाष दिइरहेको पनि देखिन थालिसकेको छ ।
दुई वा तीनवटा पार्टी जुम्ल्याहा वा तिम्ल्याहा बन्ने र अरूचाहिँ ससाना तर निर्णायक बन्ने छनक पनि बोध हुन थालेको छ । यस अघिको संसदमा काङ्ग्रेस र एमाले केही ठूला पार्टी बनेका तर तात्कालिन माओवादी केन्द्र सानो तर निर्णायक पार्टी बनेको दृष्टान्त हामीकहाँ छ ।
पार्टी सानो तर निर्णायक भूमिकामा रहेकाले यसका नेता प्रचण्डले कहिले एमालेको सहारा लिएर त कहिले नेपाली काँग्रेसको सहारा लिएर दुइदुईपटक सरकार हाँकेका पनि थिए । जेन्जी आन्दोलनपूर्व त एमाले र नेपाली काङ्ग्रेस मिलेर दुईतिहाइको सरकार चलााइरहेका पनि थिए ।
त्यति बेलाको सङ्घीय संसदमा आफ्नो सीमित उपस्थिति रहँदा पनि प्रचण्डले एमालेलाई तात्कालिन प्रतिनिधिसभाको सभामुख बनाउन निर्णायक भूमिका निर्वाह गरेका थिए । साथै, नेपाली काँग्रेसका नेता र हालका राष्ट्रपति रामचन्द्र पौडेललाई नै राष्ट्रपति बनाउने काममा अग्रसरता लिएर पूरा गरेका थिए ।
जेन्जी आन्दोलन पछिको यो सङ्घीय संसदको निर्वाचनको क्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराई आजका दिनमा रामचन्द्र पौडेलको स्थानमा देखिन पुगेका छन् । खुलेर रास्वपालाई समर्थन गरेका उनले रास्वपाको आधार टेकेर शितल निवास ताकेको देखिन्छ ।
गोरखाबाट आफ्नो उम्मेदवारी फिर्ता लिँदा नेपाली कम्युनिष्ट पार्टीलाई फाइदा हुने भएपछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले पनि भटटराईलाई शितल निवास गमनका लागि ‘ग्रिन सिग्नल’ दिइसकेको छनक सार्वजनिक वृत्तमा महसुस हुने स्तरसम्म पुगिसकेको छ ।
त्यसो त प्रचण्ड स्वयम्ले पनि एक पटक देशको अभिभावक बन्ने चाहना व्यक्त नगरेका होइनन् । तर उनको पूर्वी रूकुमबाट दिइएको उम्मेदवारीका कारण त्यो भाग नपरेको आफैमा स्पष्ट छ । उता प्रधानमन्त्रीका अर्को दाबेदार पार्टी नेपाली काँग्रेसका शेखर कोइराला पनि शीतल निवास गमनका लागि खुट्टा उचालेर तयार रहेका देखिन्छन् ।
भावी राष्ट्रपतिको यो खिचातानीमा कसको के भूमिका भनेर हेरिने पनि देखिन्छ । हालको राजनीतिक वातावरण यस्तो पनि छ । जेन्जी आन्दोलनसँगै आफू बसेको घर जलेका बाबुराम आन्दोलनलगत्तै उत्पन्न राजनीतिक वातावरणको निकास र त्यसको व्यवस्थापनमा निरन्तर खुलेर लागिरहे पनि ।
भट्टराईको यो व्यवहार कतिपयले अनौठो माने पनि ! कतिपयले समझदार तथा देशप्रति चिन्ता र चासो भएको मानिस पनि भने । उनको युवा र युवा आन्दोलनप्रति सहानुभूति पनि देखियो । यसले उनलाई सहजकर्ताको त्यो भूमिकामा पुर्यायो पनि ।
तर भट्टराईले सेतै फूलेको बुढाे शरीर लिएर त्यही जेन्जी आन्दोलनको मर्मविपरीत गोर्खामा उम्मेदवारी दर्ता गराएर समर्थक र शुभचिन्तकलाई अर्को आश्चर्यमा पारे पनि । फेरि उम्मेदवारी फिर्ता लिएर हास्य प्रहसन पनि गरे ।
अहिले उनका पछिल्ला उतारचढावयुक्त यी सबै गतिविधि भावी राष्ट्रपतिको ‘बार्गेनिङ’का लागि थिए भनेर लगभग सबैले बुझ्ने गरी सतहमा आइरहेका छन् । चुनावी मत परिणाम कस्तो हुनेछ, त्यो त हेर्न केही समय कुर्नै पर्छ ।
तर यदि रास्वपा र नेपाली काँग्रेसका बिचमा मिलिजुली सरकार बन्ने भएछ र रास्वपाले प्रधानमन्त्री पाउने भएछ भने त्यतिबेला नेपाली काँग्रेसका शेखर कोइराला अघि ल्याइने संभावना भने नकार्न सकिंदैन । रास्वपाले अरूसँग मिलेर सरकार गठन गर्ने र नेपाली काँग्रेस मिलिजुली सरकारमा नगई प्रतिपक्षमा बस्ने मतपरिणामा आउने हो भने भट्टराईको कोटा शीतलनिवास नजिकै देखिन्छ ।