• फाल्गुन २३ २०८२, शनिबार

गगन माथि आकाशमा तुवाँलो !

माघ ३ २०८२, शनिबार

जेन्जी आदोलनपछि नेपाली काङ्ग्रेसभित्र उसकै पार्टी इतिहास दोहरिएको छ । त्यो हो, पार्टी विशेष महाधिवेशनमार्फत् नेतृत्व परिवर्तन । नेपाली काङ्ग्रेसका तात्कालिन सभापति सुवर्णशमशेरले आफू महाधिवेशनबाट सभापति चयन भएको २ वर्ष पनि नपुग्दै आफ्नै इच्छाले पार्टीका नेता वीपी कोइरालालाई २०१४ सालमा नेतृत्व हस्तान्तरण गरेका थिए ।

२०१२ सालको काङ्ग्रेस महाधिवेशनबाट नर्वाचित उनी २०१५ सालमा सम्पन्न हुन गइरहेको आमनिर्वाचनमा वरियताको ‘मर्यादा क्रम’ भन्दा पनि वीपीजस्ता लोकप्रिय नेताको नेतृत्वमा जनतामाझ जान चाहन्थे । यो उनको बदलिँदो परिस्थितिप्रतिको दायित्वबोध र रणनीतिक गम्भीरता थियो ।

उनले त्यही गरे, जो जनताले चाहेका थिए । वीपीका दाजु मातृकाले वरियता र दाजुको ‘रोलक्रम’को हिसाब गर्दै पटक पटक वीपीको बाटोमा तगारो सिर्जना गरिनै रहेका थिए । वीपी यस कुराबाट निकै पीडित पनि थिए ।

तथापि वीपीले पनि बरियताको क्रम कहिल्यै मिचेनन् । उनले २०१२ सालको महाधिवेशनमा सुवर्ण शमशेरलाई अघि सारेका थिए । तर २०१५ सालमा आमनिर्वाचनको घोषणा भइसकेको थियो । निर्वाचनमा नेपाली काँग्रेसले अब्बल स्थान हासिल गर्नु थियो । त्यसका लागि ‘डाइनामिक’ नेतृत्व जरूरी थियो ।

राणा शासन भर्खर फ्याँकिएको थियो । नेपाली काँग्रेस नै उतिबेलाको क्रान्तिकारी र परिवर्तकारी पार्टी थियो । कम्युनिष्ट पार्टी त्यतिबेला सापेक्ष शैशवावस्थामा थियो । देश हाँक्ने जिम्मेवारी नेपाली काँग्रेसको नै थियो, त्यतिबेला । राणा शासन भर्खर फ्याँकिएको र प्रजातन्त्र भर्खरै ल्याइएकाले सुवर्ण शमशेरलाई ‘म हुँदा राणा नै पार्टीका सभापति छन्‌’ भन्ने जनताको मनोभावले ठूलो असर गर्ने छ भन्ने कुराको गहिरो हेक्का रहेको देखिन्छ ।

सुवर्ण शमशेर स्वयम्‌मा अग्रज प्रजातान्त्रिक योद्धा थिए । तथापि देशमा आएको परिवर्तनको बोध र महसुस हुँदा फ्याँकिएको राणाशासनको गन्ध (‘राणा’) भन्ने जनतामा कतै नआओस् भन्ने कुरामा उनी सचेत देखिन्थे । २००७ सालमा भएको दिल्ली सम्झौतापछि मोहन समशेरकै नेतृत्वमा अन्तरिम सरकार बन्दा जनतामा उनै ‘राणा’ प्रधानमन्त्री भए भन्ने जनगुनासो र विरोध व्यापक थियो ।

दोस्रो कुरा, वीपी नै प्रजातान्त्रिक समाजवादका प्रणेता थिए । प्रजातान्त्रिक समाजवादको विचार संश्लेषणमा शीर्ष नेताहरू सबै सहभागी भए पनि मुख्य देन वीपीको थियो ।

यसै कारण पनि नेता र नेतृत्व स्थपनाका लागि सुवर्ण शमशेरको दृष्टिमा वीपीलाई अगाडि बढाउनु उत्तम लागेको हुनुपर्छ । उनले त्यही काम गरे । तर समयक्रमसँगै गिरिजाप्रसाद कोइरालाको पालासम्म आइपुग्दा नेतृत्वका लागि ‘कुर्सी काण्ड’ र किसुनजीको ‘गङ्गादत्त भ्यागुतो’को नीति कथा सुन्ने सुनाउने अवस्था पनि सिर्जना हुन गए ।

यसले मूल नेता र नेतृत्वलाई आजीवन सभापति हुनु पर्ने र आफन्तलाई सत्ताको वरिपरि विराजमान गराउनु पर्ने राजतन्त्रात्मक र जहाँनियाँ शासनको दुबै विरासतलाई ‘हाइब्रिडाइज’ गरेर ‘जहाँनिया तानाशाही’ प्रणाली नेपाली काँग्रेस लगायतका पार्टीहरूमा जब्बर हुने मनोदशाको विकास गरायो ।

हालै मात्र नेपाली काँग्रेसका नेता द्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा सम्पन्न विशेष महाधिवेशनले नेपालको प्रजातान्त्रिक इतिहासमा अभिव्यक्त नवीन यथार्थतालाई थोरै भए पनि सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ । यसबाट आफूलाई प्रजातान्त्रिक परिपाटी भएको भन्ने राजनीतिक दल नेपाली काङ्ग्रेसका युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुन गएको देखिन्छ ।

यस अघिसम्म स्मसानघाटमा पुगेर दन्किइरहेको ब्रह्‌मनाल अघिल्तिर पार्टी सभापति को बनाउने भनी अग्रजका मुखारविन्दबाट सुनेर पर्कनु पर्ने नेपाली काँग्रेसको विरासतमा दोस्रो विशेष महाधिवेशनको नयाँ पार्टी विधान अनुसार शायद आउँदा दिनमा बिराम लाग्ला कि ? किनकि घाम झुल्कन खोज्दै गर्दा पनि विशेष महाधिवेशनबाट निर्वाचित नयाँ पार्टी सभापति गगनमाथिको आकाशमा तुँवालो यथावत् छ ।

तुवाँलोको भित्रको पहिलो प्रश्न, के नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवादी विचार नीति, नेतृत्व, योजना र कार्यक्रमका रूपमा जनताले पाउन र अनुभूत हुने गरी उपभोग गर्न पाउलान् ?

दोस्रो कुरा, नेतृत्व हस्तान्तरणको कुरा त पुरानो पुस्ता र नयाँ पुस्ताको सत्ता रसास्वादनको आलोपालोको कुरा मात्र हो । नेतृत्व हस्तान्तरणका साथै नयाँ नेतृत्वमा युगसापेक्ष पुरानाको तुलनामा नयाँमा रूपान्तरण र परिवर्तन आउला ?

तेस्रो प्रश्न, पार्टीभित्र वैचारिक प्रजातान्त्रिक अभ्यासले अबका दिनमा उल्लेख्य र समुचित स्थान पाउला ? जसले वैचारिक, आत्मिक र भावनात्मकताका साथै व्यवहारिक रूपान्तरण ल्याओस् ।

चौथो कुरा, के नेपाली काँग्रेसमा नीति, योजना कार्यान्वयनको प्रजातान्त्रिक प्रक्रियाको मर्मबोध गर्ने ‘डाइनामिक’ नेतृत्व ल्याउन र स्वीकार गर्न सक्ने वास्तविक प्रजातान्त्रिक परिपाटी बस्न सक्ला ?

यी अतिरिक्त सम्मुख निर्वाचनको मुकाबला, देउवाले अर्को पार्टी दर्ता गर्न सक्ने संभावना, निर्वाचनमा एकल भिडन्त, स्वत्व र विशुद्धता रक्षाको प्रश्न, वैदेशिक शक्तिको ‘ब्याक अप’ को आरोप, बागी काँग्रेसको विरासत, ‘निपो बेबी’ अन्त्यको प्रश्न, घरेलु तथा वैदेशिक शक्ति सन्तुलनको प्रश्न, सुशासन, समृद्धि र विकासको प्रश्न आदि तपसिलका धेरै प्रश्नले गगनको टाउको माथिको आकाशमा तुवाँलो लगाइरहेका छन् ।