• फाल्गुन २३ २०८२, शनिबार

आखिर को हुन् हजरत अली इब्ने अबू तालिब अलैहिस्सलाम ?

पुष १९ २०८२, शनिबार

इस्लामको इतिहासमा केही व्यक्तित्व यस्ता छन्, जसको जीवन केवल इतिहास मात्र होइन, समग्र मानवताका लागि मार्गदर्शन पनि हो। त्यसमध्ये एक महान्, अद्वितीय अतुलनीय र विशिष्ट व्यक्तित्व हुन्, हजरत अली इब्ने अबू तालिब अलैहिस्सलाम। उहाँ रसूलुल्लाह ﷺ का काका हजरत अबूतालिबका छोरा अर्थात् उहाँको भाई हुन् ।

रसूलुल्लाह ﷺ ज्वाइँ अर्थात् खातूने जन्नत हजरत सैय्यदा तैय्यबा ताहेरा फातिमा सलामुल्लाहे अलैहाका पति हुन् । जन्नती जवानका सरदार हसनैन करीमैन, शहीदेआजम इमाम हुसैन इमाम हसन अलैहिस्सलामका बाबा हुन् । इमामत जसबाट सुरु भयो ती महान हस्ती हुन् मौला अली । दज्जालको जसले अन्त्य गर्नेछन् ती इमाम मुहम्मद मेहन्दी अलैहिस्सलाम उहाँकै नाति हुन् । ज्ञानको शहरको ढोका हुन् । वीरताको प्रतीक र न्यायका सर्वोच्चम आदर्श हुनुहुन्छ मौला अली अलैहिस्सलाम ।
हजरत अली
अलैहिस्सलामको महानता, विशेषता, विशिष्टता केवल एकाध घटना वा एक दुई हदीस र कुराआनपाकका एक दुई आयतमा मात्र सीमित छैन् । उहाँको जन्मदेखि शहादत सम्मको हरेक क्षण अल्लाहको विशेष कृपा, रसूल ﷺ को निकटता, सत्य र न्यायको जीवन्त उदाहरण हो ।
जन्मदेखि नै विलक्षणता
विलक्षणता भन्नाले अरू सबैभन्दा अलग देखिने, दुर्लभ र असाधारण गुण र विशिष्टतालाई जनाउँछ । हजरत अली अलैहिस्सलाम एक मात्र त्यस्ता व्यक्तित्व हुनुहुन्छ, जसको जन्म काबाशरीफको भित्रै भयो । काबाको पर्खाल अल्लाहको आदेशबाट उहाँकै लागि फाट्यो र आज पनि त्यो ठाउँमा चिन्ह देखिन सकिन्छ जसलाई ‘रुकने यमानी’ भनिन्छ ।

उहाँको जन्म पूर्व उनकी आमा फातिमा बिन्ते असद काबा शरीफको तवाफ गर्दै हुनुहुन्थ्यो । यो भन्दै कि “ऐ अल्लाह म तिम्रो मोमिना हुं (आस्थावान हुं) । तेरो तर्फबाट जुन किताब र दूत (रसूल एंव पैगम्बर जो) आए म ती सबैमाथि आस्था राख्छु”। कसै कसैले भन्छन् कि फातिमा बिन्ते असद आस्थावान थिइन् कलिमा पढेकी थिइन् तर मौला अलीका बाबा हजरत अबूतालिबको इमान र आस्थाको प्रमाण भेटिँदैन् रे । तर त्यो अल्लाह जसले सुरह आले इमरान मार्फत हजरत अबूतालिबको महिमा बयान गरेको छ ।

त्यो सर्वशक्तिमान अल्लाहले सही बाटोतर्फ लैजान जानेको छ । तिमीले यहाँसम्म आयौ कि मौला अली अलैहिस्सलामकी आमा फातिमा बिन्ते असद आस्थावान थिइन् बाँकी कुरा कुराआनपाकका आयतबाट अल्लाहले दर्शाउँछ र प्रष्ट पार्छ । सुरह अन निसा आयत नंं.३४ मा लेखिएको छ :
(الرِّجَالُ قَوَّامُونَ عَلَى النِّسَآءِ بِمَا فَضَّلَ اللَّهُ بَعْضَهُمْ عَلَىٰ بَعْضٍ)
अर-रिजालु कव्व-मुना अला अन निसायी बिमा फद्-दला अल्लाहु बा-दहुम अला बा-दिन
अर्थात् पुरुषहरू महिलाहरूको हिफाजत/जिम्मेवारीमा अग्रणी छन्, किनभने अल्लाहले केहीलाई केहीमाथि श्रेष्ठता दिएको छ। त्यसपछि अगाडि त्यही सुरह अन निसाको आयत नंं.१४१ मा लेखिएको छ :
(إِنَّ اللَّهَ لَا يُعْطِي الْكَافِرِينَ عَلَى الْمُؤْمِنِينَ سَبِيلًا)
इन्न अल्लाहा ला युति अल काफिरीना अला अल मुमीनीना सबीला अर्थात साँच्चिकै अल्लाहले अविश्वासीहरूलाई मोमिनमाथि कुनै मार्ग (सत्ता/हुकुमत) दिनुहुन्न।” ‘कव्व-मुना अला अन निसायी’ जसको अर्थ हो महिलाहरूको हिफाजत/जिम्मेवारी पुरुषहरूलाई दिइएको तर अर्को आयतमा अल्लाहको फरमान अनुसार अविश्वासीहरु मोमिनहरूका शासक वा पालक बनाउँदैन् । जसको भाव सामाजिक र पारिवारिक संरचनासँग सम्बन्धित छन् ।

दुबै आयातलाई एकठाउँमा राखेर बुझ्दा भनाईको अर्थ यो छ कि फातिमा बिन्ते असद मोमिना (आस्थावान) थिईन् र आयत अनुसार पारिवारिक संरचनामा आस्थावानको संरक्षक जो कि पुरुषका रुपमा हजरत अबूतालिब आस्थावान रहेको कुरा यसै सुरह अन निसाका यिनै दुईवटा आयतबाट नै प्रष्ट हुन्छ ।
फातिमा बिन्ते असद जब काबाको तवाफ गरिरहेकी थिइन् त्यतिकैमा प्रसवको समय आइपुग्यो र काबाको पर्खाल फाट्यो फातिमा बिन्ते असद काबाशरीफभित्र प्रवेश गर्नुभयो । जहाँ रजबको १३ तारीखका दिन मौला अली अलैहिस्सलामको जन्म भयो । जन्मको तीन दिन पश्चात पुनः काबाबाट आमा फातिमा बिन्ते असद काखमा छोरा मौला अली शेरेखुदालाई लिएर बाहिर आउनुभयो । अर्थात् सुरह आले इमरान र सुरह अन-निसा (आयत ३४, १४१) ले हजरत अबू तालिब र फातिमा बिन्ते असदको आस्था प्रमाणित गर्दछ । यी आयतहरूले देखाउँछन् कि फातिमा बिन्ते असद आस्थावान थिइन् र पारिवारिक संरचनामा हजरत अबू तालिब संरक्षक थिए। अल्लाहमाथि आस्था राख्ने आस्थावान आमा र बुवाको सन्तानको रुपमा काबा शरीफभित्र भएको जन्मको यस घटनाले पनि उहाँको स्थान सामान्य मानिसभन्दा अलग र उच्च रहेको संकेत गर्छ ।
आप के सायानेशान कहाँ से लाऊं
मैं तो इन्सान हुं कुरान कहाँ से लाऊं
जिस का बेटा हो अली भतीजा नबी
तू बता ऐसा मुसलमान कहाँ से लाऊं
इतिहासकार भन्छन् अरबमा उतिखेर एउटा मान्यता थियो । जसको बच्चा जन्मिन्थ्यो उसले आफ्नो नवजात बच्चालाई त्यहाँ रहेको एउटा ढुङ्गामाथि राखिदिन्थ्यो । जहाँ एउटा सर्प आएर बच्चालाई केही गर्दैनन् थियो भने बच्चाका आमाबुवाको प्रशंसा गरिन्थ्यो र बच्चालाई वैध मानिन्थ्यो । तर यदि सर्पले बच्चालाई नोक्सान पुर्याउन्थ्यो भने त्यसको आमालाई चरित्रहीन भनी निंदा गरिन्थ्यो र बच्चालाई अवैध भनिन्थ्यो ।

इतिहासकार लेख्छन् कि जब मौला अली अलैहिस्सलामलाई त्यस ढुङ्गामाथि राखियो अनि जब त्यो सर्प आयो र फणा फैलायो मौला अली अलैहिस्सलामले त्यसको मुखमा हात हालेर दुई भागमा चिरिदिनुभयो । जसलाई देखेर त्यहाँ उपस्थित मानिसहरुले भने حَيَّا دُرَّة”हैय्या दर्रा” अरबीमा हैय्या सर्पलाई भनिन्छ र दर्राको अर्थ टुक्रा गर्नु वा चिर्नु हो अर्थात सर्पको टुक्रा गर्नु ।

यस बाहेक जन्मको तीन दिन पश्चात जब उहाँले आफ्ना आँखा खोल्न साथ रसूलुल्लाह ﷺ को दिव्य उज्यालोले भरिएको अनुपम करुणामय मुहारको दर्शन गर्नुभयो । पहिलो घुट्टीको रुपमा उहाँकै जिब्रो चुस्नुभयो । मौवा अलीले नै सबभन्दा पहिला रसूलुल्लाह ﷺ को इक्तिदामा नमाज पढ्नुभयो ।

फतह मक्का पश्चात रसूलुल्लाह ﷺ को कांधमा चढेर काबाभित्र रहेका हुब्बुल जस्तो सबभन्दा ठूलो बुत लगायत अन्य थुप्रै बुत तोड्नुभयो । रसूलुल्लाह ﷺ ले मुबाहिलामा मौला अलीलाई आफ्नो ज्यान बनाएर लाग्नुभयो । मौला अलीकै लागि रसूलुल्लाह ﷺ ले फरमाउनुभयो “अली जता मुड्छन्, हक (सत्य) त्यता मुड्छ अर्थात सत्य अलीको साथमा छ र अली सत्यको साथमा ।”

रसूलुल्लाह ﷺ ले फरमाउनुभयो “मोमिन र मुनाफिक बीचको पहिचान अलीबाट हुन्छ ।” रसूलुल्लाह ﷺ ले फरमाउनुभयो “अलीलाई हेर्नु इबादत, अलीको जिकिर गर्नु इबादत हो र अलीसंग प्रेम गर्नु इबादत हो ।” रसूलुल्लाह ﷺ ले फरमाउनुभयो “अली मबाट हुन् र म अलीबाट हुँ।” (तिर्मिजी)
इतिहासकारहरूका अनुसार मक्का शरीफमा जब अकाल पर्यो त्यसबेला रसूलुल्लाह ﷺ ले आफ्ना काका हजरत अबूतालिबको बोझ हलुका गर्न करिब ५ वा ६ वर्षको उमेरमा हजरत अली अलैहिस्सलामलाई आफ्नै घरमा ल्याई पालनपोषण गर्न थाल्नुभयो ।

उहाँ निरन्तर बाल्यकालदेखि नै नबूवतको काखमा हुर्किनुभयो । हजरत अली अलैहिस्सलाम रसूल ﷺ सँग हरेक कठिन घडीमा साथमा रहनुभयो, त्यो शोएबे अबी तालिबको बहिष्कार होस् । हिजरतको राति रसूल ﷺ को ओछ्यानमा सुत्ने क्षण होस् । (हिजरत भनेको धर्म र सत्यको रक्षा गर्न आफ्नै जन्मस्थान वा बसोबास गरेको ठाउँलाई छोडेर अर्को ठाउँ सर्नु हो ।

हजरत विशेष गरी रसूलुल्लाह ﷺ ले मक्का छोडेर मदीना जानुभएको घटनालाई जनाउँछ । यो इस्लामी इतिहासको अत्यन्त महत्वपूर्ण मोड हो।) विभिन्न युद्धका मैदानमा ज्यानको बाजी लगाउने होस् । रसूल ﷺ ले स्पष्ट शब्दमा फरमाउनुभयो: “अली, तिम्रो मसँग त्यही निस्बत छ, जुन हारूनको मूसासँग थियो, नबूवत बाहेक।” (निस्बतको अर्थ सम्बन्ध, तुलना वा आपसी निकटता हो ।)
युद्ध, साहस र योगदान
जंगे बद्र, जंगे उहुद, जंगे खन्दक,जंगे खैबर, जंगे हुनैन होस्, जब जतिखेर जहाँ इस्लामको अस्तित्व संकटमा घेरियो र ज्यानको बाजी लगाउनु पर्ने अवस्था आयो । तब त्यहाँ त्यतिखेर हजरत अली अलैहिस्सलाम अग्रपंक्तिमा उभिनुभयो। खैबरको त्यो ढोका जसलाई खोल्न सय जना हृष्टपुष्ट जवान लाग्दथे ।

त्यस ढोकालाई अल्लाहको मद्दतले एक हातले उखेलेर फाल्नुभयो । इस्लामको सुरुवाती समयमा मुसलमान र मक्काका कुरैशबीच धेरै संघर्षहरू भए । तीमध्ये जंग-ए-खन्दक विशेष रूपमा स्मरणीय छ । यस युद्धमा मुसलमानहरूको रक्षा गर्ने युद्ध रणनीति र साहसको अद्भुत उदाहरण देखियो । त्यही युद्ध नीति र साहसले गर्दा मौला अलीले अम्र बिन अब्दवुदलाई खन्दकको युद्धमा पराजित गर्नुभयो ।

मुसलमानहरूले जब मदीना बसाए । त्यसपछि मक्काका कुरैश र खैबरका योद्धाहरूले मुसलमानमाथि आक्रमण गर्ने योजना बनाए जसको क्रममा खैबरको युद्ध भयो । मरहब खैबर किल्लाको प्रमुख योद्धा थियो । उसले नै किल्ला रक्षा गरिरहेको थियो र मुसलमानहरूको सामना गर्न तमतयार थियो । रसूलुल्लाह ﷺ ले हज़रत अली अलैहिस्सलामलाई मरहबसँग लड्न पठाउनुभयो । हजरत अलीले साहसपूर्वक लडेर मरहबलाई पराजित गर्नुभयो । उहाँको एक प्रहारमै मरहब दुई टुक्रा भएर भुइँमा ढल्यो । यी सबै उहाँको असाधारण वीरताका उदाहरण हुन् ।
अरु कसैका लागि होइन् मात्र मौला अली अलैहिस्सलामका लागि रसूलुल्लाह ﷺ ले फरमाउनुभयो: “ अना मदीनातुल इल्म फा अलीयून बाबुहा अर्थात म ज्ञानको शहर हुँ र अली त्यसको ढोका हुन्।” हज़रत अली अलैहिस्सलाम कुरआनको तफ़सीर, तावील र शरियतको सबैभन्दा ठूलो ज्ञाता हुन् ।

उहाँले गर्वका साथ भन्नुहुन्थ्यो: “म कुरआनको प्रत्येक आयत कहाँ, कहिले र किन अवतरित भयो सबै जान्दछु।” (तर्जुमा भनेको कुरआनका शब्दलाई अर्को भाषामा सरल अर्थमा उतार्नु वा अनुवाद गर्नु हो । तफ्सीर भनेको कुरआनको आयतको पृष्ठभूमि, कारण, सन्दर्भ उदाहरण सहित व्याख्या गर्नु हो । तावील भनेको कुरआन पढ्दा शाब्दिक अर्थभन्दा अगाडि गएर गहिरो आध्यात्मिक र दार्शनिक अर्थ पत्ता लगाउनु हो।) मौला अली ले नै मिम्बरे सलोनीको दावा गर्नुभयो र भन्नुभयो मृत्यु दूत मलाई लिन आइ हालोस् त्यो भन्दा पहिला अहिले म छु सोध जे सोध्नु छ । मौला अलीले फरमाउनुभयो मलाई धरती भन्दा आकाशको बाटो थाहा छ । उहाँको महिमामण्डण र गुणगान गर्न सक्नु हाम्रो लागि साध्य छैन् ।
गदीर र मौलाइयत
गदीर-ए-खुममा भएको इस्लामको इतिहासमा एउटा महत्वपूर्ण घटना हो । जुनकि मक्का र मदीनाको बीच हज मार्गमा भएको थियो । मुसलमानहरू हज गरेर फर्कंदै गर्दा गदीर-ए-खुममा विश्राम लिन पुगे, जहाँ रसूलुल्लाह ﷺ ले सबै सवा लाख सहाबालाई जम्मा गरी सम्बोधन गर्दै मौला अलीको हात आफ्नो हातले समातेर माथि उठाएर फरमाउनुभयो: “मनकुन्तो मौला फा हाजा अलीयुन मौला अर्थात जस जसको म मौला हुँ, अली पनि उस उसका मौला हुन्।”

यस घटनाले हजरत अली अलैहिस्सलामलाई मुसलमानहरूको मौला र मार्गदर्शक बनायो । साथै धार्मिक अधिकार सहित मौलाइयतको घोषणा एक लाख भन्दा बढी सहाबाहरुको बीच गरियो । यो घोषणापश्चात नै दीन ए इस्लाम पूर्ण भएको आयत अवतरित भयो । जुन आयतले हजरत अली अलैहिस्सलामको नेतृत्व, मौलाईयत र मार्गदर्शनलाई ईश्वरीय मान्यता प्रदान गर्‍यो ।
न्याय, त्याग र शहादत
हजरत मौला अली अलैहिस्सलाम एक महान व्यक्तित्व हुन् । उहाँ केवल हजरत रसूलुल्लाह ﷺ का सहाबा मात्र नभई धर्म, साहस र न्यायको प्रतीक पनि हुन् । मौला अलीले सबैका लागि बराबरी र निष्पक्षताको सुनिश्चितता गर्नुभयो । हज़रत अलीको जीवनमा न्याय सबैभन्दा महत्वपूर्ण थियो । मुसलमानहरूको खलीफाको रूपमा उहाँले प्रत्येक निर्णयमा ईमानदारी, निष्पक्षता र धर्मिक सिद्धान्तको पालना सहित गर्नुभयो। गरीब, कमजोर र असहायको पक्षमा उहाँ सधैं उभिनुभयो । न्यायमा अडिग रहँदै, उहाँले व्यक्तिगत लाभभन्दा समुदायको हितलाई प्राथमिकता दिनुभयो ।
हजरत अली अलैहिस्सलामको जीवन त्यागको अद्भुत उदाहरण हो। युद्ध, यात्राहरू र कठिन परिस्थितिहरूमा पनि व्यक्तिगत आराम र सुविधा त्याग्दै धर्म, ईमान र समुदायको सेवामा सदा तत्पर रहनुभयो ।
हजरत मौला अली अलैहिस्सलामले जीवनको अन्तिम चरण शहादत प्राप्त गर्नुभयो । सन् ४० हिजरी रमजानको १९ तारीखका दिन बिहानै हजरत अली अलैहिस्सलाम मस्जिद कुफामा फजरको नमाज पढ्दै हुनुहुन्थ्यो । त्यही समयमा एक विरोधी अब्दुर्रहमान इब्ने मुल्ज़िमले उहाँको शिरमाथि विषयुक्त धारिलो तरवारले जोडदार प्रहार गर्यो । प्रहारले हजरत अलीको शिरमा गहिरो चोट लाग्यो र विष शरीरभरि फैलिँदै गयो । अन्ततः दुई दिन पश्चात २१ रमजानको दिन शहीद हुनुभयो । उहाँको जीवनले हामीहरूलाई धर्म, साहस र ईमानमा अडिग रहन प्रेरणा दिन्छ । शहादतले उहाँको जीवनलाई पूर्णता दियो ।
निष्कर्ष
हजरत मौला अली अलैहिस्सलामको जीवन न्याय, त्याग र शहादतको सर्वोच्च उदाहरण हो। उहाँ वीरता, ज्ञान, धर्मिक नेतृत्व र सत्यवादिताको प्रतीक हुनुहुन्छ । आज पनि उहाँको साहस र धर्मिक नेतृत्व समस्त मानवजातीका लागि प्रेरणाको स्रोत बनेको छ ।

उहाँसँगको प्रेम इमानको प्रतीक हो र उहाँसँग वैमनस्यता आत्मिक विनाश हो। हजरत अली अलैहिस्सलामको फजीलत गन्नु विशिष्टता बयान गर्न खोज्नु चम्चाले समुद्रको पानी नाप्ने प्रयास जस्तै असम्भव छ । कसैलाई उहाँसंग तुलना गर्नु मुर्खता हो, किनकि कुरआन र हदीसका अनुसार उहाँको व्यक्तित्व अतुलनीय छ ।