• फाल्गुन २३ २०८२, शनिबार

आखिर बुहारी न हो

आश्विन ३ २०८२, शुक्रबार

आज यस्तो मुद्दामा चर्चा गर्नेछौं । जुन मुद्दा अधिकांस घरको पर्खालभित्र दैनिकीको रुपमा बित्छ । तर त्यसको बारेमा कहीँ कतै जिकिर हुँदैन । गरीब परिवारमा मात्र होइन मध्यमवर्गीय र धनाढ्य परिवारमा पनि यो दैनिकीको रुपमा देखिन्छ । हो, त्यो चर्चाको विषय हो ‘बुहारी’ । अब बुहारी त हरेक घरमा हुन्छिन् तर यी कुराका बारेमा कुरै नहुनाले हामीले वास्ता गर्दैनौं । आज पढेर मनन गरौं कि यहाँ लेखिएको जस्तै छ वा छैन, हाम्रो परिवेश र हाम्रो समाज ।
सामाजिक परिवेश :
यदि कुनै केटीको आचरण राम्रो छैन भने कसैले ऊसँग आफ्नो छोराको विवाह गर्न र गराउन चाहँदैनन् । यति मात्र कहाँ हो र कसैले झूठो अफवाह मात्र फैलाइ देओस् त । विवाहका लागि तय गरिएको नाता पनि तोडिन्छ । त्यहीँ यदि कुनै केटाको आचरण खराब छ भने सबैले भन्न थाल्छन् अरे, ‘यसको विवाह गराइ दिनुपर्छ । विवाह भयो भने सुध्रिहाल्छ ।’
हामी जब त्यही बिग्रेको छोराका लागि किन नहोस् । तर बुहारी खोजिन्छ तब बुहारी सर्वगुण सम्पन्न होस् भनी चाहना हुन्छ । ऊ हरेक दोषबाट मुक्त रहोस् भन्ने चाहना हुन्छ ।

आचरण र बोलीबचन सब राम्रो होस् । विवाह पश्चात बुहारीलाई घरमा भित्रियाउँदा त उसलाई लक्ष्मी र रहमत भनिन्छ । तर घरभित्र आइसकेपछि त्यही बुहारी जो विहेको दिन लक्ष्मी र रहमत थिइन् । अब घरभित्र आउन साथ उनलाई जहमत, दुर्गा र मेसिन ठानिन्छ । उनका खर्च र आवश्यकता पूरा गर्नुपर्ला भनी जहमत ठानिन्छ । अनि दुर्गा यो मानेमा कि अब बुहारीले दश हात नहुँदा पनि घरका सारा काम गरोस् किन भने ऊ बुहारी हो । अझ काम त गरोस् त्यो पनि कत्ति नि बिगारिकन मेसिन जस्तै सारा दिन काम नै गरिरहोस् भनी सोचिन्छ ।

उसले नै बिहान अलार्म भन्दा पहिलो उठ्नु पर्नेछ, किनभने ऊ त लक्ष्मी र रहमत हो । लक्ष्मी र रहमत अबेरसम्म सुत्नु भएन शुभ हुँदैन रे । उठेपछि घरका सारा काम कुचो लगाउनेदेखि भाँडा मिस्ने, लुगा धुने, खाना पकाउने, तरकारी केलाउने, चामल र दाल केलाउने, पानी भर्ने, बच्चा स्याहार्ने, सासुससुराको हेरचाह गर्ने, पतिको सारा काम गर्ने, बच्चालाई पढाउने तयार गरेर स्कुल पठाउने, टिफिन बनाउने, खाजा र खाना बनाउने, पाहुनाको सत्कार गर्ने सब उसैको जिम्मेवारी ठानिन्छ । किनकि ऊ त बुहारी हो ।
धनकी देवी लक्ष्मी र रहमत भनी भित्रिने कयौं बुहारीहरुले आफ्नो आँखाबाट धन हेर्न पाउने कुरा छाड्नुस् । आफ्नो आवश्यकता पूरा गर्न अति आवश्यक चीजहरुका लागि उनीहरुसँग सुको हुँदैन । चाहिने बेलामा पतिको मुख ताक्नुपर्छ । कोही कोही पति आफ्नी पत्नीलाई माया गर्ने भएता, लौ भनी सय पचास रुपैयाँ पत्नीको हातमा राख्दिने गर्छन् । नत्र उस्तै हो भने आमासँग सोध्न जान्छन् कि ‘पत्नीले रकम चाहिएको छ भनिछे । के गरुँ दिऊँ कि न दिऊँ वा दिऊँ भने कति ?’ आफूले खर्च गर्नु परे कसैसँग सोध्नु पर्दैन तर पत्नीलाई दिँदा सोचविचार गर्नुपर्ने किन भने आखिर ऊ र घरको बुहारी हो ।
छोरी पढ्न जाँदा कुनै आपत्ति नहुने परिवारमा बुहारीले पढ्ने कुरा मात्र मुखबाट निकाल्ने हो कि आकाश खसिहाल्छ । छोरी र बुहारीको कहाँ तुलना हुनसक्छ र । छोरी त आफ्नो हो बुहारी बाहिरबाट आएकी हो । अनि बुहारीको काम आफ्नो घरबार र बालबच्चा हेर्ने कि पढ्न जाने हँ, आखिर ऊ घरकी बुहारी हो ।

जुन काम छोरीले बिगार्दा भनिन्छ कि ‘गर्दै सिक्दै जाँदा यस्तै हुन्छ । गरेपछि बिग्रिन्छ र बिग्रिएपछि त सिकिन्छ ।’ छोरीले कुनै काम बिगार्दा गराइले नै सिकाइ हुने कुरा गर्ने परिवारमा । त्यही काम गर्दा यदि बुहारीको हातबाट बिग्रियो भने त मानौं प्रलय नै आइहाल्यो । अब उसलाई मात्र गाली गरिंदैन । उसको आमाबुवा, बाजेबज्यैसम्म गाली गरिन्छ । तेरो हातमा जांगर थिएन र ? तेरी आमाले यही सिकाएर पठाएकी हो ? तेरो बाउले के शिक्षा दिएर पठाएको हो ? तेरो बाउबाजेले यही संस्कार दिएर पठाएछन् ? यी कुरा सुनाउनु त सामान्य मानिन्छ । किनभने बुहारीलाई गाली गरिएन । उसलाई हप्काएर राखिएन भने टाउकोमा टेक्न आउँछे रे भनी समस्त समाजको मानसिकता छ । यसकारण त गाली गर्न, मानसिक र शारारीक यातना दिनको लागि छुट छ किनभने ऊ बुहारी हो ।

छोरीको जुन सामान किन्दा कुनै आपत्ति नमान्ने आमाबुवाका त्यही सामान बुहारीका लागि किन्नु परे फजुल खर्ची लाग्न थाल्छ । ज्वाँईले छोरीलाई घरको काममा सघाउँदा ज्वाईसाबलाई एकदमै भलाद्मी ठान्ने सासुससुराले । तिनै घरका काममा आफ्नो छोराले बुहारीलाई संघाउँदा जोइटिङ्ग्रे भन्न बेर लगाउँदैनन् । किनभने ऊ छोरी होइन ऊ त बुहारी हो ।
परिणाम :
समाजमा बुहारीप्रतिको व्यवहार, धारणा र पराइको भावनाले गर्दा नै आज कति महिलाहरुलाई घरभित्र मर्नु न बाँच्नु भइरहेको छ । जसका कारण महिलाहरु मानसिक र शारारिक हिंसा भोग्न बाध्य हुनु परिरहेको छ । घरको सारा कामको जिम्मेवारी बुहारीमाथि रहेकोले बिरामी भए पनि काम गर्दा काम बिग्रियो भने गाली गर्ने र उस्तै पर्यो भने कुटपिट नै गर्ने गरिन्छ । दिनकै घरायसी काम, पारिवारिक जिम्मेवारी, बुहारीप्रतिको व्यवहार र आर्थिक अभावका कारण हुने झगडाले बच्चाहरुको कलिलो मनमा डर बसिहाल्छ । त्यही पारिवारिक हिंसा र कलहका कारण बच्चाहरु मनोसामाजिक समस्याबाट ग्रसित हुने गर्छन् । परिवारमा एक–अर्का बीच राम्रो सम्बन्ध रहँदैन ।

परिवर्तनका लागि पहल :
हो बुहारी कहिल्यै छोरी हुन सक्दैनिन् र सासु कदापी आमा हुन सक्दैनिन्, यो ध्रुव सत्य नै हो । किनभने आमा भनेकी आमा नै हुन् । आमाको तुलना संसार कसैसँग हुनै सक्दैन । आमा जतिको निःस्वार्थ स्नेह र ममता कसैभित्र राखिएको छैन । तथापि बुहारीलाई छोरी मान्नुपर्छ भन्ने कुनै कर छैन् । तर उसलाई बुहारी त मान्न सक्नुपर्यो । यहाँ त बुहारीलाई बुहारी होइन कामदार ठानिन्छ । बुहारीलाई त बँधुवा मजदुर ठानिन्छ । जसलाई पारिश्रमिक पनि नदिइकन सित्तैमा दिनरात काम गराउन पाइन्छ रे, त्यो पनि मेसिन ठानेर । हो यही मानसिकता हटाउन जरूरी छ । बुहारीलाई कामदार नठानी घरको सदस्य सम्झेर उसलाई अरु सदस्य सरह आदर, मानसम्मान, स्नेह दिनुपर्छ । हामीले स्वीकार्नु पर्छ कि बुहारी पनि मानव हुन् । उनी पनि काम गरेपछि थाक्छिन् ।

उनलाई पनि आरामको आवश्यकता हुन्छ । बुहारीलाई पनि जीवनलाई राम्ररी जिउनका लागि रकम र सरसामानको आवश्यकता पर्छ । जुन परिवारले उनलाई चाहेको बेला उपलब्ध गराइ दिनुपर्छ । सासुले कम्तीमा घरका सानातिना काम तरकारी केलाउने, चामलदाल केलाउने, पाहुनाको सत्कार गर्ने र सकभर आफ्नो लुगाफाटा र सरसामान आफैले धुने र मिलाएर राख्ने गरिनुपर्छ । यदि सासुले खाना पकाउन नसकेपनि पाकेको खाना झिकेर खाने र अरुलाई खुवाउने गर्न सक्छिन् । घरमा उमेर पुगेकी नन्द वा आमाजु छिन् भने उनले अरु केही नगरे कुचो लगाउने, फाटफुट भाँडा धुने र आमाबुवालाई चिया नास्ता बनाएर दिइन् भने पनि बुहारीलाई केही हदसम्म राहत हुनेछ । यसो गर्दा बुहारीमाथि कामको बोझ घट्न जान्छ उनी रिलैक्स महसुस गर्छिन् ।
परिकल्पना :
जब बुहारीलाई बुहारीकै रुपमा स्वीकार गरिनेछ । उसलाई आदर, मानसम्मान, स्नेह र बुहारीको स्थान दिइन्छ । उसका आवश्यकता उसले भन्नु भन्दा पहिले पुरा गरिने प्रयास गरिनेछ । तब बुहारीलाई त्यो परिवारमा अपन्त्व महसुस हुनेछ । उनले पतिको परिवारलाई नै आफ्नो परिवार ठानेर आफ्नो ज्यानको परवाह नगरिकन परिवारका लागि हरक्षण साथमा उभिनेछिन् । परिवारमा शान्ति हुनेछ । अनि पारिवारिक हिंसा र आपसी कलहबाट मुक्त रहनेछ । बच्चाहरुमा कहिल्यै मनोसामाजिक समस्या हुनेछैन ।

परिवारमा सासु–बुहारीको, नन्द–भाउजूको, देवर–भाउजूको, पति–पत्नीको र आमा–छोराछोरीको बीच सम्बन्ध सुमधुर र बलियो हुनेछ । तब तपाईंले पनि समाजमा शिर ठाडो पारीकन गर्वका साथ भन्न सक्नुहुनेछ कि ‘आखिर बुहारी न हो ।’