यो त सर्वविदितै रहेको कुरा हो कि मध्यपूर्व सदियौंदेखि विश्व राजनीतिको केन्द्रबिन्दु रहिआएको छ । यहाँको प्रत्येक घटना केवल क्षेत्रीय सीमाभित्र मात्र सीमित रहँदैन, यसले विश्वव्यापी रुपमा नै प्रभाव पार्ने सामर्थ्य राख्दछ । फिलिस्तीनमाथि दशकौंदेखि गरि आएको इजरायली दमनको बारेमा सारा विश्व जानकार तर मौन छ ।
तथापि पछिल्लो समयमा इरान–इजरायल, इजरायल–सीरिया र इजरायल–लेबनान लगायतका देशहरु बीचको बढ्दो तनाव र हालका सशस्त्र गतिविधिहरू एक गम्भीर संकेत हुन् कि यो टकराव अब केवल वैचारिक वा कूटनीतिक मात्र नभई प्रत्यक्ष सैन्य द्वन्द्वको दिशामा अग्रसरता हो । जसले सीरिया, लेबनान लगायतका अरब र पश्चिमी मुलुकहरुलाई आफ्नो चपेटामा लिन सक्छ । यसको समयमा समाधान खोजिएन भने यो टकरावले विश्वस्तरमै विनाशकारी रुप लिनसक्छ । यद्यपि कुनै पनि देश होस् तर शक्ति प्रदर्शनका लागि मानव नरसंहार कुनै विकल्प होइन ।
विभिन्न अन्तर्राष्ट्रीय संचार माध्यमहरुका अनुसार सुपर पावरको हात आफ्नो शिरमाथि रहेकोले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमा शासन परिवर्तन चाहेका छन् । सत्ता पल्टाउने सुरुवात इराकबाट सुरु गरी सिरिया, लेबनान, लिबिया, सोमालिया, सुडान र अन्त्यमा इरान रहेको हो । उल्लेखित ६ देशमा करिब सत्ता परिवर्तन भइसकेको छ । हाल इजरायलले इरानसँग सुरु गरेको युद्ध अमेरिकाका तर्फबाट गरेको हो वा होइन भनी अब प्रष्ट भइसकेको छ ।
इरान र इजरायल बीचको जारी संघर्ष अब एक खतरनाक मोडमा पुगेको छ । पहिलो पटक अमेरिकी सेनाले प्रत्यक्ष हस्तक्षेप गर्दै इरानका तीन प्रमुख परमाणु स्थलहरूः इस्फहान, नतांज र फोर्डोमा हमला गरेको छ । यस हमलापछि इरानले अमेरिकालाई कडा चेतावनी दिएको छ । इरानी नेतृत्वले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै भनेको छ, ‘तिमीले सुरुवात गरेका हौ, अन्त्य हामी गर्नेछौं ।’
अमेरिका आफ्नो सहयोगी इजरायललाई हारबाट बचाउनका लागि अब स्वयम् पनि यस युद्धमा सामेल भई इरानमाथि आक्रमण गरिसकेको छ । अब इरानका लागि लड्नु वा मर्नु जस्तो परिस्थिति बनिसकेको छ । हेर्ने हो भने मध्यपूर्व (मिडिल इस्ट) र अरब क्षेत्रमा तबाहीको साइरन बजिसकेको छ । इजरायलद्वारा निरन्तर फिलिस्तीनका भोकाप्यासा निहत्था बालबालिका, महिला वृद्धवृद्धा, उपचारत बिरामी र घाइतेहरुको नरसंहार जारी रहेकोछ ।
कुवेत, बहराइन, कतार, जोर्डन, साउदी अरेबिया र ओमान यी सबै विकसित देशहरू जब फिलिस्तीन, लेबनान, सिरिया र यमनमाथि बमबारी भइरहेको थियो । त्यतिबेला चुप लागेर मुकदर्शक भएर बसे भने कसैले केवल शब्दले निन्दा मात्र गरे कुनै ठोस कदम चालेनन् । तर अब चाँडै यी मुलुकहरू पनि युद्धमा होमिन सक्ने सम्भावना बढेको छ । यी सबै अरब देशहरूमा अमेरिकाका एयर बेस र सैन्यअड्डाहरू अवस्थित छन् ।
अतः सम्भावना यो पनि छ कि इरान अमेरिकी आक्रमणको जवाफमा सबैभन्दा पहिले यिनै अमेरिकी बेसहरूलाई निशाना नबनाउला भन्ना सकिन्न । यदि इरानसँग जोडिएका प्रोक्सी (आर्थिक, सैन्य र वैचारिक समर्थन पाउने) समूहहरू अन्य देशहरूमा सक्रिय छन् भने उनीहरूले पनि आक्रमण सुरु गर्दिन सक्छन् । यो सायद विश्वयुद्धै नहोला, तर अरब मध्यपूर्व क्षेत्रीय विनाशको शुरुवात अवश्य भइसकेको छ । यिनीहरुलाई निर्दोष फिलिस्तीनीहरूको श्राप लागेको भन्दा फरक नपर्ला ।
फिलिस्तीन माथि इजरायलले गर्दै आइरहेको नरसंहार, अवैध कब्जा, र ज्यादतीको जवाफी कारबाही इरानले गर्यो । तत्पश्चात आज विश्व राजनीतिक परिवेशमा इजरायलले जब आफूलाई अन्तर्राष्ट्रिय कानूनको रक्षाकर्ता जस्तो देखाउन थालको छ । तब त्यो एक प्रकारको विडम्बना जस्तो लाग्छ । किनभने यही इजरायल हो, जसले विगत सात दशकदेखि अन्तर्राष्ट्रिय कानुनको सुस्पष्ट उल्लंघन गर्दै आएको छ ।
न केवल एकपटक, तर दर्जनौँ पटक, निरन्तर रूपमै जस्तैः संयुक्त राष्ट्रसंघका प्रस्तावहरूको अवहेलना गर्दै आइरहेको छ । इजरायलले संयुक्त राष्ट्रसंघद्वारा पारित दर्जनौँ प्रस्तावहरूको लगातार उल्लंघन गरेको छ । चाहे त्यो सन् १९६७ पछि कब्जा गरिएको भूभागको सम्बन्धमा होस्, वा पूर्वी यरुशलेमको स्थिति, वा फिलिस्तीनी शरणार्थीहरूको अधिकार इजरायलले ती सबै प्रस्तावहरूलाई बेवास्ता गर्दै आफ्नो रणनीतिक विस्तारलाई प्राथमिकता दिंदै आएको छ ।
यसैगरी अवैध यहुदी बस्तीहरूको निर्माण गरिरहेको छ । अन्तर्राष्ट्रिय कानुन अनुसार (विशेष गरी चौथो जेनेभा कन्वेन्सन अन्तर्गत), कब्जा गरिएको भूमि (जस्तै : वेस्ट बैंक) मा आफ्ना नागरिकहरूलाई स्थानान्तरण गरेर बसाल्नु अवैध हो । तर इजरायलले हजारौँ अवैध यहुदी बस्तीहरू निर्माण गर्दै गएको छ । जसले फिलिस्तीनीहरूको जीवन, भू–स्वामित्व र राजनीतिक अधिकारमा गम्भीर प्रभाव पारेको छ ।
निर्दोष नागरिक, अस्पताल, स्कूल र शरणार्थी शिविरमाथि आक्रमण गर्दै आइरहेको छ । गाजापट्टीमा पटक–पटक भएका सैन् कारबाहीहरूमा इजरायलले अस्पतालहरू, युएन शरणार्थी शिविरहरू, विद्यालयहरू, र धार्मिक स्थलहरूमा समेत बमबारी गरेको छ । तीमध्ये धेरै संरचनाहरू युनाइटेड नेशन्सका संरक्षित क्षेत्रहरू भित्र पर्दथे । जसमा बालबालिका, वृद्ध, र घाइतेहरू बसेका थिए । यस्तो हमला स्पष्ट रूपमा युद्ध अपराध अन्तर्गत पर्छ ।
सन् २००८, २०१४, २०२१ र २०२३ र हाल सम्म गरिएका गाजामाथिको आक्रमणहरूमा हजारौँ निर्दोष फिलिस्तीनीहरू मारिएका छन् । तीमध्ये हजारौं महिला र बालबालिकाहरू थिए । स्कुल जाने उमेरका नानीबाबुहरू, जो न त सैनिक थिए, न विद्रोही । डाक्टरहरू, पत्रकारहरू, राहतकर्मीहरू समेत इजरायली आक्रमणको शिकार बनेका छन् ।
प्रेस लेखिएको ज्याकेट लगायका पत्रकारहरूलाई निशाना बनाउनु के युद्ध अपराध होइन र ? तर इजरायलले यो अपराध पनि बारम्बार दोहोर्याएकै छ । यसका साथै आम नागरिकमाथि आक्रमण गरेको आक्रमण पश्चात घाइते भएकाहरुलाई लग्न लागेको एम्बुलेन्समाथि आक्रमण गरेको अस्पतालमाथि आक्रमण गरी बिरामी, घाइते लगायत स्वास्थ्यकर्मीहरुमाथि समेत आक्रमण गरी अमानवीयताको पराकाष्ठा नाघेको कुरा पनि सर्वविदित नै छ ।
विश्व खाद्य कार्यक्रमको प्रतिवेदन अनुसार प्रत्येक ३ जनामा १ जना मानिसले लगातार धेरै दिनसम्म भोकै बस्नुपरेको छ, र ४.७ लाख मानिसहरूलाई पूर्णतः संकटको रेखामा राखिएको छ । किनकि गाजाको सम्पूर्ण जनसंख्या (झण्डै २.१ मिलियन) अत्यन्त खाद्य असुरक्षाको चपेटामा परेको छ, र झण्डै ४.७ लाख मानिसहरू IPC स्केलको Catastrophic स्तर (अत्यधिक भोकमरी) मा पुगेका छन् ।
Gaza Humanitarian Foundation -GHF द्वारा सञ्चालित केवल चारवटा सैनिक–नियन्त्रित वितरण केन्द्रहरूमा भारी भिड र हिंसाका कारण सयौं मानिसले ज्यान गुमाएका छन् । विशेषगरी खान युनिसजस्ता शहरमा भागदौड र किचमारमा २०–२१ जना मानिसको मृत्यु भएको छ । मार्चदेखि इजरायलले खाद्यान्न र दुधजस्ता अत्यावश्यक सामानहरूमा कडा रोक लगाएको छ । शिशुहरूका लागि फार्मुला दुध दुर्लभ र महँगो भएको छ, जसले करीब १,३६० भन्दा बढी बालबालिकाको शारीरिक विकास अवरुद्ध भएको छ ।
दुध र पोषणको अभावले नवजात शिशुहरू र साना बालबालिका चरम जोखिममा परेका छन् । उनीहरू इन्फेक्सन, एनिमिया तथा शारीरिक र मानसिक विकासमा स्थायी क्षतिहरूको शिकार भइरहेका छन् । करीब ६६–७१ हजार बालबालिका र १७ हजार आमाहरू गम्भीर कुपोषणको चपेटामा छन् । हाल गाजामा मानव–सिर्जित भोकमरी व्याप्त छ—जहाँ हरेक दिन मानिसहरू हताशा र निराशामा मृत्युको किनारमा छन् ।
सुरक्षा, इन्धन, खाना, र स्वास्थ्य सेवाहरू—सबै कुरा पूर्ण संकटमा छन् र कार्यहीन भएका छन् ।
WFP, UNICEF, Amnesty जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले आपूर्ति वृद्धि, नाकाबन्दीको अन्त्य र सुरक्षित वितरण प्रणालीको माग गरिरहेका छन् । तर हालको स्थितिमा, गाजावासीहरूको दैनिक जीवन आफैमा बाँच्नका लागि एक खतरनाक जुवा बनिसकेको छ । फिलीस्तीनी बालबालिकामा कुपोषणको दर तीव्ररूपमा बढेको छ—५.५% बाट बढेर जुन सम्ममा यो दर १०.२% पुगेको छ (५ वर्षभन्दा कम उमेरका बालबालिका)। दिनदिनै गाजा –फिलीस्तीनमा मानव अधिकार, बाल अधिकार र महिला अधिकारको धज्जिया उडाइँदै छ । तर संसारका ठुल्ठुला अन्तर्राष्ट्रिय मानव अधिकारवादी, महिला अधिकारवादी र बाल अधिकारवादी संघ संस्था र मानिसहरु मुकदर्शक भएर बसिरहेका छन् ।
इजरायलले पटक पटक अन्तर्राष्ट्रिय अदालतको अवहेलना गरी दोहोरो चरित्र देखाएको छ । जब जब अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) वा संयुक्त राष्ट्रसंघले इजरायल विरुद्ध अनुसन्धान गर्न चाहन्छ । इजरायल र त्यसका सहयोगी राष्ट्रहरू (विशेषतः अमेरिका) ती प्रक्रियाको आलोचना गर्छन्, अस्वीकार गर्छन् । तर जब आक्रमण उनीहरूमाथि हुन्छ, तब तिनीहरुले नै ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’ भन्दै रोइलो गर्न थाल्छन् । निष्कर्षतः जबसम्म इजरायल आफैले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दैन तबसम्म उसले अरूलाई कानुनको पाठ पढाउने नैतिक अधिकार राख्दैन । आज फिलिस्तीनीहरू आफ्नो अस्तित्व, भूमिको रक्षा र मानवअधिकारका लागि संघर्षरत छन् । इजरायललाई अन्तर्राष्ट्रिय कानुनको याद अहिले होइन, धेरै पहिले आइसक्नुपर्थ्यो ।
हेर्ने हो भने अहिले शक्ति प्रदर्शनको वैश्विक समिकरण बन्दैछ । अमेरिका, रूस र चीनजस्ता महाशक्तिहरूको लागि मध्यपूर्व केवल तेल, ग्यास र व्यापार मात्रको केन्द्र होइन । यो सैन्य शक्ति, धार्मिक र रणनीतिक प्रभावका लागि निर्णायक भूमिका खेल्ने एक तवरले शक्तिशाली क्षेत्र हो । इजरायल खडा गर्नेदेखि लिएर उसलाई टिकाइ राख्न चाहिने सहयोग स्रोत साधन उपलब्ध गराउने काममा अमेरिका कै हात र साथ रहेको कुरा सर्वविदित नै छ । यही कारण छ कि यी दुबै देश अमेरिका र इजरायल सधै एउटै पक्षमा रहने गरेका छन् । विश्वमा शक्ति अनुपात देख्ने हो भने यसमा फेरबदल भइरहन्छ । विश्वका इस्लामिक मुलुकहरु, युरोपेली राष्ट्रहरु अर्थात अर्कोतर्फ, इरान, रूस र कहिलेकाहीँ चीन वैकल्पिक शक्तिको रूपमा प्रस्तुत भइरहेका हुन्छन् ।
युद्धका केही प्रमुख कारणहरू :
धार्मिक वैचारिक द्वन्द्व :
शिया बहुल देश इरानले इस्लामको अस्तित्व, स्वाभिमान र साख बचाउन निरन्तर अथक प्रयास गर्दैछ । जसको उद्देश्य मुस्लिमहरुको पहिलो किल्ला मश्जिद अल अक्शाको रक्षा र फिलिस्तीनको समर्थन गर्नु र जायोनिस्ट इजरेली शासनको विरोध गर्नु हो । इजरायल भने आफूलाई मध्यपूर्वको एकमात्र शक्तिशाली राष्ट्रको रूपमा दर्शाउन खोज्दैछ । ई.स. १९७९ सालमा भएको इरानी इस्लामीक क्रान्तिपछि इरानले इजरायललाई इस्लामको शत्रु र जायोनिस्ट (निरंकुश) शासन घोषणा गर्यो । संसार भरका मुस्लिम समुदायको धार्मिक आस्था अनुसार किल्ला ए अब्बल अर्थात मश्जिद अल अक्शाका रक्षार्थ उभिएका फिलिस्तीनका निहत्था आम नागरिकहरु माथि इजरायलले गरेको अमानवीयता, नरसंहार, निर्दयता र बर्बरता पनि युद्धको कारण हो ।
परमाणु कार्यक्रम :
इजरायल र पश्चिमी शक्तिशाली देशहरूलाई यो डर छ कि इरानले परमाणु बम विकास गरेमा इजरायलको अस्तित्व संकटमा पर्छ । जबकि इरान भन्छ, उसको कार्यक्रम शान्तिपूर्ण छ । इजरायल भन्छ, परमाणु सम्पन्न इरान सुरक्षाको विनाश हो । यद्यपि संसारका अन्य मुलुकहरू परमाणु सम्पन्न छन् तिनको विषयमा कसैले चुइँक्क बोलेको पाइँदैन । ती परमाणु पनि त विनाशका कारण नै हुन् परमाणु विश्वलाई हराभरा बनाउने सामान पक्कै होइन । अहिले यही विषय अन्तर्राष्ट्रिय कूटनीतिको प्रमुख चिन्ता बनिसकेको छ । अमेरिका र इजरायलसँगै युरोपेली संघले समेत बारम्बार वार्ता र प्रतिबन्धमार्फत् इरानमाथि नियन्त्रण गर्नका लागि प्रयास गरिरहेका छन् । जबकि इरान भने आफ्नो हकमा उभिइरहेको छ कि ऊ “शान्तिपूर्ण उद्देश्य मात्र” राख्दछ ।
बर्चस्वको होडबाजी :
इरान आफूलाई इस्लामीक विश्वको साँचो नेता मान्दछ, खास गरी फिलिस्तीनको मामिलामा । उता इजरायल भने आफूलाई प्रविधिविज्ञ, शक्तिशाली र सुप्रिम पावरको रूपमा प्रस्तुत गर्न चाहन्छ । अहिले कोही कसै भन्दा कम छैन, यही दर्शाउने प्रयास भइरहेको छ । जो कोही पनि शक्ति, प्रभुत्व संपन्नता, सर्वोच्चता र वैश्विक सत्ता हत्याउन प्रतिस्पर्धीका रुपमा डटिएका छन् ।
यसैगरी अन्य कारणहरुमध्ये ई.स. १९४८ मा जब इजरायलको स्थापना भयो जसलाई इरानले प्रारम्भमा मान्यता दियो । तर ई.स.१९७९ इरानी क्रान्तिपछि अमेरिका र इजरायलसँग सम्बन्ध विच्छेद गर्यो । ई.स.१९८२ हिजबुल्लाह गठन–
प्रमुख प्रतिरोध मोर्चा गठन भयो । ई.स.२००० पछि परमाणु कार्यक्रम तीव्र हुँदा विश्व स्तरमै चिन्ता बढ्यो ।
ई.स.२०१० स्टक्सनेट साइबर हमला–
अमेरिका र इजरायलबाट भयो । ई.स. २०२३–२४ सिरिया, इराक र गाजामा इजरायली हमलाहरू भयो । १३ अप्रिल २०२४ ईरानले इजरायलमाथि ३०० ड्रोन र मिसाइल हमला गर्यो ।
समाधान र जोखिमका सम्भावना :
यदि यो संघर्ष सिरिया, लेबनान, यमन, इराक हुँदै खाडी क्षेत्रसम्म फैलियो भने तेस्रो विश्वयुद्ध जस्तो अवस्था सिर्जना हुनसक्छ, जुन विनाशकारी परिणाम ल्याउन सक्छ । शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, रूसले भूमिका खेल्न सक्छन् । तर सबै पक्षको आफ्नै रणनीतिक हित र स्वार्थ रहेका छन् ।
फिलीस्तीन–इजरायल युद्ध केवल दुई देश बीचको द्वन्द्व होइन । यो धर्म, विचारधारा, जायोनिष्ट नीति, र महाशक्तिहरूको हित अनि स्वार्थको समिश्रण हो । यसको समाधान कूटनीति, संयमता, र अन्तर्राष्ट्रिय संवादबाट मात्र सम्भव छ । तर जबसम्म शक्ति प्रदर्शन नै प्राथमिक उद्देश्य रहन्छ, तबसम्म यो आगो निभ्दैन् । जसको कारण मध्यपूर्वमा मात्र होइन्, सम्पूर्ण विश्वमा यो आगो फैलिने खतरा रहिरहनेछ ।
निष्कर्ष :
इजरायलद्वारा इमाम रूहुल्लाह खुमेनीको मकबरा (मजार) लाई एयर स्ट्राइकमार्फत् निशाना बनाउने प्रयास गरेको खबर आएको छ । यदि यो खबर सत्य हो भने, यो अब केवल दुई देश बीचको युद्ध मात्र रहँदैन्, बरु एउटा धर्मयुद्धको सुरुआत हुनसक्छ । जुन युद्ध विशेष गरी शिया मुस्लिम समुदायलाई संसार भरिबाट एकजुट हुनका लागि प्रेरित गर्न सक्नेछ ।
मिडिया र सोसलमिडिया मार्फत् अर्को खबर यो पनि आएको छ कि इरानका सर्वोच्च नेता आयतुल्लाह इमाम अली खामेनेइले आफ्नो उत्तराधिकारी (जांनशीन) तोकि त्यसको बारेमा घोषणा समेत गरिसकेका छन् । यसरी लगातार घटिरहेका घटनाहरूको प्रवृत्तिले यस तर्फ इसारा गर्छ कि चाहे अमेरिका, बेलायत, फ्रान्स वा नाटो कुनै पनि शक्ति यो युद्धमा सामेल होस्, इरान अब पछि हट्ने छैन् । इरानले युद्धको नेतृत्व गर्न सक्छ । किनभने उसको अनुसार यो युद्ध अब देशको सीमा नाघेर धर्मको विषयमा परिणत भइसकेको छ । तसर्थ फिलिस्तीनमा भइरहेको नरसंहार रोक्न र विश्वस्तरमै भविष्यमा हुन सक्ने ठुलो नरसंहारबाट बचाउन यथास्रिघ नै समाधान खोज्न वैश्विक स्तरबाटै पहल हुन अति जरुरी छ ।
(जानकारीका स्रोतहरु : बीबीसी न्यूज, सेतोपाटी, आनलाइन खबर, कान्तिपुर लगायतका मिडिया र गुगल)