काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षको रूपमा ल्होसार मनाउने गर्दछ्न् ।
यो पर्वमा विविध कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गर्छन् ।
तामाङ भाषामा ‘ल्हो’को अर्थ ‘वर्ष’ वा ‘वर्ग’ तथा सारको अर्थ ‘नयाँ’ भन्ने हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ग पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदायलाई प्रकृति पूजक पनि भन्ने गरिन्छ ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने गर्दछन् । सोनाम ल्होसारका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
देशका विभिन्न स्थानमा बसोवास गर्ने तामाङ सहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जाति तथा समुदायहरूले आआफ्नै शैली र परम्परा अनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।