सिंहदरबारभित्र संघीय संसद भवन निर्माणाधीन छ । सिंहदरबारको पुतली बगैंचा रहेको ठाउँमा एक सय ७३ रोपनी क्षेत्रमा संघीय संसद भवन निर्माणको काम भइरहेको हो । यो भवन ६ अर्बभन्दा बढी रकम खर्च गरेर निर्माण भइरहेको छ ।
संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य संरचना निर्माण भइरहेको छ । भवन निर्माणको ठेक्का तुँदी सेक ज्वाइन्ट भेन्चरले पाएको थियो। भवन निर्माणको काम तीव्र गतिमा अघि बढेको छैन। त्यसकारण पटक-पटक म्याद थप गरिँदै आइएको छ ।
यो भवन शिलान्यास २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संघीय संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ ।