राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ । चीनको विन्जाओ फोटोग्राफर एसोसीयसन, चिनिया पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री संघको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल)फोटो प्रदर्शनीमा आयोजना गरिएको हो ।
उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० तस्वीरहररु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रर्दशनीमा राखिनेछ ।
सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १४ सदस्यीय टोली उक्त प्रर्दशनीका लागि चीनको सान्तोङ प्रान्त पुगेको छ । उक्त कार्यक्रम सान्तोङ प्रोभिन्सका पूर्व उपप्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह र विन्जाओ फोटोग्राफर एसोसीयसनबीच सांस्कृतिक तथा व्यवसायीक फोटोग्राफी सहकार्य गर्ने सम्झौता आदनप्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै विन्जाओका परराष्ट्रमामिला निर्देशक पाइमिइले फोटोग्राफीमार्फत नेपाल र चीनको मैत्री सम्बन्ध बलियो बनाउनुका साथै चीनको वन बेल्ट वन रोडको अवधारणालाई पनि सहयोग पुग्ने बताए ।
एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण सान्तोङ प्रान्तमा नेपालको मनमोहक फोटोहरू प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताउँदै फोटो प्रदर्शनीका माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।