आज समाजमा मुसलमान र बहुविवाहलाई जोडेर जुन शब्दजालको खेल खेलिँदैछ । त्यो नितान्त आफ्नो स्वार्थ पूरा गर्नका लागि दिइने तर्क मात्र हो । यसको वास्तविकता बारे सम्बन्धित समुदाय र सरोकारवालाहरुको ध्यानाकर्षण गराउन अति आवश्यक देखिन्छ । इस्लाममा हुकुम अर्थात् आदेश भनिएका कार्यहरु गर्नै पर्ने हुन्छ, अन्यथा पापको भागिदार भइन्छ । अनि केही कार्य गर्न नहुने अर्थात् निषेधित कार्य भनि मनाही गरिएको छ । यदि कसैले निषेधित कार्य गरेमा ऊ पापको भागिदार हुन्छ ।
हुन त हरेक समुदायमा बहुविवाहको प्रचलन छ । नैतिक वा अनैतिक र वैधानिक तथा अवैधानिक रुपमा बहुविवाह गर्नबाट कुनै समुदाय चोखो छैन् । यसको कारण र रीतिरिवाज भने साझा वा फरक होला । तर बहुविवाहको यो सोख हरेक समुदायमा पाइन्छ । धेरै जसोमा यो भ्रम फैलिसकेको छ कि मुसलमानलाई अनिवार्य चार वटा विवाह गर्ने धार्मिक अधिकार छ । साथै मुस्लिम समुदायमा यो अधिकार अनुसार हरेक पुरुषले एक भन्दा बढी पत्नीसँग बस्न पाउनुपर्छ भनी सोच छ । चाहे ऊ क्षमता राखोस् वा नराखोस् ।
मुस्लिम समुदायमा बहुविवाहको हुकुम अर्थात् आदेश छैन । यदि कसैले यस्तो गरेमा इस्लामको नजरमा ऊ अपराधी हो । जुन कुरा विस्तृत रुपले अगाडि पढ्न सक्नुहुनेछ । इस्लाममा बहुविवाह अनिवार्य नभए तापनि आज हाम्रो समुदायमा यो बहुविवाहको प्रचलन बढ्दैछ । क्षमता नहुँदा पनि एउटा पत्नी हुँदाहुँदै अर्को विवाह गर्नेहरु धेरै छन् । एउटै पत्नी त्यसबाट जन्मिएका सन्तानको जिम्मेवारी बहन गर्न नक्नेहरु उनीहरुलाई सुखी राख्न सक्ने क्षमता नहुँदा पनि यस्ता कार्य खास गरी झुठ बोलेर वा ढाँटेर दोस्रो विवाह गर्छन् । जसका कारण आज धेरै महिलाहरु घरेलु हिंसाका सिकार छन् ।
अर्को शब्दमा भन्दा बहुविवाह गर्ने क्षमता नहुँदा पनि बहुविवाह गर्ने प्रचलन बढेको छ । पहिलो पत्नीको मन्जुरी बिना नै वा तलाक दिने धम्की र दबाबमा भए पनि मन्जुरी लिई अर्को विवाह गरी आफ्नो स्वार्थ पूरा गर्नेहरुको कमी छैन यो समाजमा । धेरै जसोले यो सोच राख्दछन् कि पुरुषलाई एक भन्दा बढी विवाह गर्ने अधिकार नै इस्लामले दिएको छ । जब कि यो अनुमति मात्र हो र यो अनुमति सबै परिस्थितिमा लागू हुँदैन् ।
इस्लामले जहाँ एक भन्दा बढी विवाह गर्ने अनुमति मात्र दिएको छ । त्यहीँ सबै पत्नी र सन्तानका बीचमा समान न्याय गर्ने ताकीद (बाध्यकारी आदेश) पनि दिएको छ । इस्लामले बहुविवाह गर्ने अनुमति समाजका समस्या र विकृतिलाई रोक्न भनि दियो । यो अनुमति त्यतिबेला खास गरी पालना गर्न भनियो, जब साढे चौध सय वर्ष अघि युद्धमा धेरै मानिसहरु शहिद भएका थिए । घरमा विधवा महिला र अनाथ बच्चाहरु मात्र थिए ।
ती विधवा महिला र अनाथ बच्चाहरुलाई संरक्षण, सुरक्षा र तिनका जीविकोपार्जनमा सहजता होस् भनी त्यतिबेला अनुमति दिइयो । त्यो पनि सबैलाई बाध्यकारी गरी होइन । जससँग एक भन्दा बढी पत्नी र बच्चाहरुलाई स्याहार गर्ने क्षमता र हैसियत थियो तिनलाई मात्र । साथै महिलालाई पनि कर गरिएको थिएन् । जसमा आफू विकृतितिर नलागि आफ्नो जीविकोपार्जन गर्नसक्ने क्षमता थियो । उनीहरुलाई कुनै किसिमको दबाब दिइएको थिएन । अर्थात् यो अनुमति महिला र बच्चाहरुलाई संरक्षण दिलाउन त्यतिखेर दिइयो न कि समाजमा समस्या र विकृति उत्पन्न गर्न भनी ।
अहिले समुदायमा हेर्ने हो भने रिक्सा चलाउनेले पनि बहुविवाह गरेको पाइन्छ । तरकारीको ठेला लगाउनेले दुईटी पत्नी राखेकै छन् । अर्काको घरमा कामदार भएकाहरुले पनि बहुविवाह गरेको पाइन्छ । अशिक्षाका कारण यस्तो गर्छन् भनौँ भने शिक्षकले समेत बहुविवाह गरेकै पाइन्छ । (अन्यथा नलाग्ने र उदाहरण साझा भए संयोग मात्र हुनेछ) अर्थात् भनाईको अर्थ के हो भने क्षमता नहुँदा र इस्लामले भनेका कारण नभए पनि बहुविवाह गरेको पाइन्छ ।
अरु कुरामा यस्ता व्यक्तिहरु हवाला (प्रमाण) खोज्ने र पालना समेत गर्ने गर्छन् । तर बहुविवाहको सन्दर्भमा आफ्ना व्यक्तिगत स्वार्थका कुरा आउँदा किन बिर्सिने कि जबकि इस्लाममा स्पष्ट भनिएको छ कि ‘यदि तिमी सक्षम छैनौं विवाह पश्चातका जिम्मेवारीहरु बहन गर्न भने एउटा निकाह (विवाह) पनि नगर र रोजा (व्रत) राखेर आफ्ना इच्छालाई मार’ । आखिर किन यी कुरालाई दर्शाउन चाहन्न धार्मिक तथा सामाजिक अगुवा आखिर इस्लामले भनेका कुरा समेत मान्न तयार नहुने कस्तो सोच र मनस्थिति हो ।
आज हाम्रो समाजमा बहुविवाह हुने र गर्ने धेरै कारणहरु छन्, जसमध्ये केही प्रमुख कारण यी हुन् बहुविवाह हुने । पत्नी मन नपरेमा । सन्तान न जन्मिएमा वा छोरीहरुमात्र जन्मिएमा । आफूलाई दोस्रो विवाह गर्न मन लागेमा । प्रमुख कारण चाहिँ सम्पत्ति बढी भएमा । बहुविवाहका कारण समाजमा धेरै घरेलु हिंसाका घटनाहरु बढी रहेका छन् । त्यस कारण बहुविवाह रोक्नुपर्छ र रोक्नसक्ने केही सरल उपाय यी हुन् ।
स्थानीय विवाह समिति गठन गर्नुपर्ने छ । विवाह गर्न आउनेको पहिचान पत्र हेरी पुष्टि गर्नुपर्ने आवश्यकता छ । आउने व्यक्ति स्थानीय वा बाहिरको भए सम्बन्धित ठाउँमा विवाह भइसकेको वा नभएको भनी पत्ता लगाउनु पर्छ । मस्जिदमा नै विवाह गर्न आउने कारण सोध्नुपर्छ । यो कुरा सबले बुझ्न जरुरी छ कि इस्लाममा बहुविवाह एक अनुमति मात्र हो, फर्ज (अनिवार्य) वा पालना गर्नै पर्ने बाध्यकारी आदेश होइन ।
इस्लाम धर्मावलम्बीहरूले इस्लाममा गर्ने कामहरुमा पनि स्तरीकरण गरिएको छ । फर्ज (छोड्न नै नहुने) छोडे भने पुण्य प्राप्ति त परको कुरा उल्टै गुनाहगार पापको भागीदारी हुने । जसमा नमाज पढ्नु रोजा बस्नु, शिक्षा हासिल गर्नु गराउनु आदि फर्ज अर्थात अनिवार्य छ । सुन्न त (न छोड्दा नै बेस) छोडे भने पुण्य पाइँदैन । बालिग छोराछोरीको समयमा विवाह गर्नु, बच्चाहरुलाई असल बनाउनु, छिमेकीका समस्यामा साथ दिनु, बिरामीको अयादत गर्नु (भलाकुसारी गर्नु) आदि ।
वाजिब (छोड्न न हुने) छोडे भने पुण्यमा कमी हुनेछ । (हैसियत भएर पनि नगरेमा) हज, जकात, खैरात, कुर्बानी र वित्र नमाज आदि ।
इजाजत (अनुमति) मात्र नगरे नि फरक न पर्ने कुरा जसमा ४ वटा निकाह अर्थात् विवाह गर्ने अनुमति आउछ । अब क्रमशः कुरा जोड्दै जादाँ समुदायमा के भइरहेको छ हेर्नुस् ।
फर्जको कुराहरु गर्दा :
नमाजको कुरा गरौं त कोही पढेका छन्, कोही छाडेका छन्, कोही कोही त शुक्रबारको दिन जुमा पढेर सबथोक फाडेँ भन्नेहरुको कमी छैनन् । रोजाको कुरा गरौं त रमजान शरीफमा पनि पान चपाएर मज्जाले हिंड्छन् । त्यतिबेला इस्लाम याद आउँदैन । बच्चाहरुलाई शिक्षा दिलाउने कुरा आए पैसा नै हुँदैन । छिमेकीको घरमा खाना पाक्यो कि भोकै छन्, सोधखोज गरी मद्दत गर्न फुर्सद छैन् ।
सुन्नतका कुराहरु गर्दा :
बालिग हुन नपाउँदै बालविवाह गरी पठाउने प्रचलनमा कसैलाई इस्लाम याद आउँदैन कि हाम्रा नबी पाकको विवाह २५ वर्षको उमेरमा भएको थियो । बच्चाहरु जन्माएछन्, उनीहरु असल बाटोमा छन् वा छैनन् खबर छैन् । छिमेकी पीडाले बेहाल भइ छटपटिए पनि मलाई के मतलब भन्नेको पनि कमी छैन त्यति बेला पनि इस्लाम याद आउँदैन । बिरामीलाई हेर्न जाने फुर्सद त कसैलाई हुँदैन । आफ्नै यति काम हुन्छन् समय कहाँ हुनु र । यतिबेला इस्लाम याद आयो कि आएन ?
वाजिबका कुराहरु गर्दा :
हज जाने कुरामा छोराछोरीका लागि कमाउनु छ, धेरै जिम्मेवारीहरु छन् । पूरा गरी बुढेसकालमा जाउँला भन्नेहरुको कमी छैन । वाजिबको अर्थ थाहा हुँदाहुँदै ढिलाइ गर्ने गर्छन् । जकातको कुरा आए जग्गा किन्नेहरुको कमी छैन् किन कि जग्गाको जकात दिनु पर्दैन । खैरातको कुरा गरौं त भिक्षा माग्ने अलि हट्टाकट्टा देखे भने यत्रा जिउ लिइ कमाएर खान सक्दैनाै भनी चार कुरा सुनाउनेको कमी कहाँ होला । जब कि भनिएको छ ‘दाताको नाममा माग्नेहरुसँग सवाल नगर हैसियत भए देऊ, छैन भने खामोश बस कुनै कमेन्ट नगर’ ।
कसैले दिए भने पनि पुरानो आफूलाई मन नपरेका वा बासी सामान दिने गर्छन् । जब कि इस्लामले भनेको छ भिक्षा दिँदा तिमीले मन नपरेका वा बासी खान नदिनु भनी हदीश नै छ । के यति बेला आयो त याद इस्लाम पक्कै आएन । कुर्बानीको कुरा गरौं भने यो नितान्त पूण्यको नियतले गर भनी आदेश छ तर सेखीखोरी र प्रतिस्पर्धा नै हुनेगर्छ के यही हो त इस्लामले भनेको आदेश अब पनि याद आएन । भित्र नमाजको मात्र कुरा नै के जब फर्ज नमाज छाडेर अफसोच हुने कोही छैन । यति बेला पनि आउँदैन इस्लामको याद ।
हो इस्लाम पनि याद आउँछ । शरीअत पनि अनि माैलानाहरुले पनि के काम गर्न गराउन साथ दिने गर्छन् । त्यो शरीअतको कुन कुरा हो थाहा छ ? हो पढ्नुस् त्यो शरीअत हो अनुमति मात्र । इस्लामले दिएको अनुमति मात्र हो, न गरे गुनाह (पाप) हुँदैन । हो त्यही कुरा हो बहुविवाह । जसको कुरा मात्र चले समाजमा हलचल भइहाल्छ । अरे यो त इस्लामले पुरुष भनाउदाँहरुलाई दिएको इजाजत हो । यसमा कहा रोक लगाउन पाइन्छ ।
हेर्नुस् कस्तो भ्रममा छ समाज । जुन कुरा फर्ज छ छाडे गुनाहगार (पापको भागीदार) हुने त्यो बेला इस्लाम र शरीअत नसम्झिने जसको अनुमति मात्र छ नगरे कुनै दण्ड सजाय छैन । त्यो अनुमति यसकारण कि समाजमा विकृति नफैलियोस् भनि अर्थात् एउटा राम्रो उद्देश्यका लागि छ । त्यसमा समाजको सोच र आँखा खुल्ला छन् । अलि कति कुरा मात्र उठाइयो कि हलचल मच्चिहाल्छ । यस्तो लाग्छ संसार हल्लियो पृथ्वीमा प्रलय आइल्यो ।
बहुविवाहको दुष्परिणामबाट समाजमा आज हजारौं महिला र उनीहरुसँग रहेका बच्चाहरुको धेरै दुर्गती छ । उनीहरुको बिचल्ली छ, न घर छ, न खाना बस्न ठेगान, कष्टपूणर् जीवन व्यतित गर्न बाध्य छन् उनीहरु । कसले सोच्ने ती असहाय महिला र बच्चाहरुको बारेमा । कसले उठाउने तिनका पीडाका बोझ । कहाँ लेखिएको छ कि इस्लामले एक महिला र उसका बच्चाहरुको भविष्यसँग खेलबाड गर भनेर । अनि कहाँ लेखिएको छ तिनलाई कष्टकर जीवन दान दिई आफू मोज गर भनेर । सायद कसैले पनि यसको जवाफ दिन सक्दैन ।
इस्लाम धर्मावलम्बीहरु अन्तिम ईशदूतका फालोअर हुन् । सबैले कुरआन मजीदका साथै बुखारी शरीफ, मुस्लिम शरीफ, अबुदाउद, तिर्मिजी जस्ता हदीश शरीफलाई अनुशरण गर्नछन् । यी हदीशमा भनिएका भनाइ कसैले नकार्न र अस्वीकार गर्न सक्दैन । यही हदीशका उत्कृट किताब बुखारी शरीफ, मुस्लिम शरीफ, अबुदाउद र तिर्मिजी आदिमा लेखिएको छ कि ‘ऐ नवजवानों तुम में जो कोई निकाह कि इस्तिताअत रखता है वो निकाह करे । ये अजनबी औरत की तरफ निगाह करने से रोकने वाला है और अपनी शर्मगाह की हिफाजत करने वाला है । जिस में निकाह की इस्तिताअत नही वो रोजे रखे क्यों कि रोजा इस से दूर रखता है’ अर्थात् नेपाली अनुवाद ः ‘ऐ नवजवानहरु तिमीमध्ये जसँग क्षमता छ उसले विवाह गर किनभने यसले परनारी माथि आँखा जानबाट बचाउँछ र आफ्ना गुप्ताङ्गहरुको रक्षा गर्छ । जोसँग क्षमता छैन उसले विवाह नगरी वर्त बस, किन भने वर्तले विकृतिबाट बचाउँछ’ ।
कुनै पनि इस्लाम धर्मावलम्बीहरुले यी कुरालाई नकार्न नै सक्दैन किनभने यो कुरा पनि हदीशमा लेखिएको छ कि “क्षमता नभए एक विवाह पनि नगर ।” अब कुरानपाकको कुरा गरौं भने स्पष्ट लेखिएको छ ‘तिमी बहुविवाह गर’ तर ‘यो लेखिएको छैन कि गर्नै पर्छ अथवा अनिवार्य छ बहुविवाह नगरे पाप लाग्छ’ भन्ने कुरा लेखिएको छैन् । यदि बहुविवाह गर्नुपर्ने अवस्था आएमा पत्नीहरु बीच एक कपाल बराबर पनि अन्याय न होस् । मलाई लाग्दैन नेपाल त परै जाओस् संसार मै कोही महापुरुष यस्तो छैन, अहिले जसले बहुपत्नीहरुबीच पूणर् न्याय गर्न सकोस् ।
अर्थात् भनाइको अर्थ यो छ कि बहुविवाह गर्नु त परै एक विवाह गर्न पनि रोक लगाएको छ । किन कि इस्लामले महिलालाई अब्बल दर्जा दिएको छ । न कि बहुविवाहका कारण दुविधा, समस्या तथा कष्टकरमा बाँच्न बाध्य गराउन भनी । अब तपाईं आफै भन्नुस्, मुसलमानलाई चार विवाह गर्न आदेश नै छ ।